राजनीतिमा हुने महिला हिंसा विरुद्ध लड्न दल भन्दा माथि उठ्नु पर्छ : उपसभामुख पोखरेल


इटहरी, २४ फागुन । प्रदेश १ की उपसभामुख सरस्वती पोखरेलले राजनीतिमा हुने महिला हिंसा विरुद्ध लड्न राजनीतिक दल भन्दा माथि उठ्न सक्नुपर्ने बत्ताउनुभएको छ । इटहरी उपमहानगरले १११ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको श्रमिक महिला दिवसको महत्त्व र राजनीतिमा महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले त्यसो भन्नुभएको हो ।

उहाँले अबको चुनावमा दलभन्दा माथि उठेर सके ५० प्रतिशत नसके ३३ प्रतिशत महिलालाई जिताउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला आत्मनिर्भर र सुखी हुन नसके संवृद्ध नेपाल बन्न नसक्ने बत्ताउनुभयो । महिला आत्मनिर्भर बन्न सके हिंसा कम हुने उहाँको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सर्वध्वज साँवाले महिलालाई हरेक क्षेत्रमा अवसर प्रदान गर्दै रोजगार बनाउन सक्नुपर्नेमा जोड दिनुभयो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले राजनीतिमा महिला हिंसाको विषय बहसको विषय नवनेकाले इटहरीबाट बहसको सुरुवात गरिएको बत्ताउनुभयो ।

कार्यक्रममा इटहरीका प्रहरी प्रमुख डिएसपी अर्जुन केसी तथा विमला ढकाल,रञ्जु सिग्देल,रोशना थापा,कमला खडका,रुक्मिणी कोइराला गंगा गुरुङ लगायत बोल्नुभयो । कार्यक्रममा इरिक्सा चालकहरू सीता परियार,सुजता राई,रिता दाहाल,मनीषा कार्की र दीपा कार्कीलाई सम्मान गरिएको छ ।

यसै गरी उपमेयर आत्मनिर्भर कार्यक्रममा उत्कृष्ट कार्य गर्ने तालतलैया कृषि उद्यमी महिला समूह इटहरी २,सगरमाथा दालमोठ भुजिया महिला उद्यमी समूह इटहरी २०, चिनारी कृषि उद्यमी महिला समूह इटहरी १९,सृजनशील कृषि उद्यमी महिला समूह इटहरी ३, लाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।

यसै गरी लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविका भई स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै रुक्मिणी कोइराला र दीपा शर्मालाई सम्मान गरियो ।

 

प्रतिक्रिया दिनुहोस्