६४ औँ राष्ट्रिय सहकारी दिवस पथरीशनिश्चरेमा मनाइने


विराटनगर, १ चैत। यस वर्षको ६४ औँ राष्ट्रिय सहकारी दिवसको मूल समारोह मोरङको पथरीशनिश्चरेमा हुने भएको छ । जिल्ला सहकारी संघ लि. मोरङको आयोजनामा पथरीमा सम्पन्न विस्तारित भेलाले उक्त निर्णय गरेको हो ।

भेलाले जिल्ला सहकारी संघ लि. मोरङका अध्यक्ष डिल्ली पोखरेलको संयोजकत्वमा सबै विषयगत सहकारी संघका पदाधिकारी एवम् सञ्चालकहरू, सबै पालिकाका संयोजक एव सदस्यहरू, सहकारी कर्मचारी संगठनका पदाधिकारी एवम् सञ्चालकहरू, राष्ट्रिय सहकारी बैङ्क र अग्रज सहकारीकर्मीहरु समेत रहेको २ सय ५१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । त्यसै गरी कामलाई थप व्यवस्थित बनाउनका लागि पोखरेलकै अध्यक्षतामा सबै विषयगत संघका अध्यक्ष, सहकारी कर्मचारी संगठनका अध्यक्ष, जिल्ला सहकारी संघका संचालकद्धय युवराज भट्टराई, योगराज पौडेल, जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष प्रेमप्रकाश कोइराला, उपाध्यक्ष बिना राई, सचिव एकराज निरौला समेत रहेको व्यवस्थापन समिति निर्माण गरेको छ भने समितिको सदस्य सचिवमा जिल्ला सहकारी संघ लि। मोरङका सचिव वीरेन्द्र यादवलाई तय गरेको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलको संयोजकत्वमा सहकारी रजिष्टार बलराम निरौला सहित सहकारीका केन्द्रीय निकायमा प्रतिनिधित्व गर्ने सहकारीकर्मीहरुको सल्लाहकार समिति समेत गठन गरिएको छ ।

भेलाले सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमका साथ सहकारी दिवस मनाउन सबै संघ÷संस्थालाई अनुरोध गर्नुका साथै चैत्र १८ गते विराटनगर, बेलबारी÷सुन्दरहरैचा, पथरीशनिश्चरे÷उर्लाबारी र रंगेलीमा बृहत् मोटरसाइकल र्याली गर्ने निर्णय समेत गरेको छ । चैत्र १९ गते साँझ ७ बजे सहकारी संघ÷संस्थाका कार्यालयहरूमा दीपावली गर्नेसमेत निर्णय गरिएको कुरा संयोजक डिल्ली पोखरेलले जानकारी गराउनु भयो ।

नेपालमा २०१३ साल चैत्र २० गते सहकारी संस्था स्थापना भएको अवसरमा हरेक वर्ष चैत्र २० गते देश भरी सहकारी दिवस मनाउने गरिएको छ । मोरङमा रहेका करिब ११ सय सहकारी संघ÷संस्थाका सदस्यहरूको सहभागितामा हरेक वर्ष सहकारी दिवस मनाउँदै आइरहेको छ । यस वर्षको सहकारी दिवसका दिन नेपालमा सहकारी संस्था स्थापना गर्ने पहिलो ब्यक्ति बखानसिंह गुरुङको अर्धकदको सालिक पनि पथरीशनिश्चरेमा अनावरण गर्ने कार्यक्रम रहेको बताइएको छ । उक्त सालिक सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको पहलमा निर्माण गरिएको हो ।

समितिका सदस्य सचिव वीरेन्द्र यादवका अनुसार कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिहरू गठन गरिएका छन् । बिना राईको संयोजकत्वमा हल÷मञ्च व्यवस्थापन, गणेश राईको संयोजकत्वमा स्वयमसेवक परिचालन, पार्वती बरालको संयोजकत्वमा भाकी र्याली र स्वागत सत्कार उपसमितिको जिम्मेवारी अष्टलक्ष्मी साकोसलाई दिइएको छ । मोटरसाइकल र्यालीका लागि विराटनगरमा अमृत गुरुङ, रंगेली कमलेश्वर ठाकुर, पथरी-उर्लाबारी एकराज निरौला, सुन्दरहरैचा-बेलवारीका लागि रवीन्द्र आचार्यलाई संयोजक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्