बेलबारीका श्रमिकहरूले अब कल्याणकारी कोष मार्फत रू.२ लाख बराबरसम्मको सुविधा तथा रकम पाउने


बेलबारी, २ चैत । बेलबारीका श्रमिकहरूले नगरपालिकाले स्थापना गरेको कल्याणकारी कोष मार्फत, कुनै दुर्घटना भएमा दुई लाख बराबर सम्मको उपचार तथा आर्थिक सहयोग पाउने भएका छन् । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले आइतबार श्रमिकहरूलाई परिचयपत्र हस्तान्तरण गर्दै सो जानकारी दिएका हुन ।

श्रमिकहरूको कल्याणको लागि नगरपालिकाले स्थापना गरेको श्रमिक कल्याणकारी कोष मार्फत दुर्घटना भए २ लाख रुपैयाँ बारबार सम्मको उपचार खर्च तथा मृत्यु भएमा २ लाख रुपैयाँ रकम प्रदान गर्ने प्रमुख सुवेदीले बताएका छन् । प्रमुख सुवेदी श्रमिक कल्याणकारी कोष मार्फत सुरु भएको कार्यक्रमले बेलबारीका श्रमिकहरूलाई दुखको बेला सहयोग हुनेमा विश्वस्त रहेका छन् । स्थानीय श्रमिकहरूको हक, अधिकार र विकासको विषयमा नगरपालिका गम्भीर रहेको सुवेदीले बताए ।

बेलबारीको आधिकारिक श्रमिक हो भन्ने पहिचान गर्ने आधार नगरपालिकामा सूचीकृत भएर प्राप्त गर्ने परिचयपत्रले जनाउने बेलबारी नगरकार्यपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृतले प्रदीप शाहले बताए । सोही कारण बेलबारी भित्रका श्रमिकहरूलाई सूचिकृतको लागि शाहले आग्रह पनि गरेका छन् ।

कल्याणकारी आर्थिक सहयोग प्राप्त गर्ने भए पछि स्थानीय श्रमिक सन्तबहादुर कुमाल खुशी व्यक्त गर्छन् । लामो समय पछाडि स्थानीय श्रमिकहरूको माग पुरा भएको उनी बताउँछन् । कुमालले परिचयपत्र प्राप्त गरेसँगै बेलबारी नगरपालिकालाई धन्यवाद प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्