कुम्वदेवी लामिछाने बचाउ अभियानद्वारा मृगौलाका बिरामी कुम्वदेवीलाई रु.२ लाख ४१ हजार हस्तान्तरण


बेलबारी, ३ चैत । बेलबारी नगरपालिका वडा नं. ८ का मृगौलाका बिरामी कुम्वदेवी लामिछानेलाई बचाउन स्थानीयहरूले ‘कुम्वदेवी लामिछाने बचाउ अभियान’ सुरु गरेका छन् । बेलबारी ८ स्थित चाँदनीचोक, राधानगर निवासी कुम्बदेवीको दुवै मृगौलाले काम नगर्ने भए पछि उपचारको लागि आर्थिक अभावको कारण स्थानीयले अभियान सुरु गरेका हुन ।

कुम्वदेवी लामिछाने बचाउ अभियान समितिले उपचारार्थ रकम २ लाख ४१ हजार ९ सय ८० रुपैयाँ कुम्वदेवीको परिवारलाई हस्तान्तरण गरेको छ । आर्थिक अभावको कारण उपचार गर्न नपाएर यो समाजमा अकालमा कसैले ज्यान गुमाउनु नपरोस्, एक अर्कालाई दुख पर्दा सहयोग गर्ने संस्कार हुनु पर्छ भन्ने उद्देश्यले पनि स्थानीय एक भएर अभियानमा लागि रहेको ‘कुम्वदेवी लामिछाने बचाउ अभियान’ का संयोजक विमल लिम्बु बताउँछन् ।

ज्याला मजदुरी गरेर ४५ वर्षीय कुम्वदेवी र ५४ वर्षका उनको श्रीमान् चन्द्र बहादुर लामिछानेले परिवार धानी रहेका थिए । ४ सन्तानकी आमा कुम्वदेवी बिरामी भए पछि घरमा भएका छोरा छारीहरु दैनिक पिडामा बसिरहेका छन् । छोराछोरीहरू आमा निको हुन्छ भन्ने आशामा छन् ।

घरमा कमाउने चन्द्र बहादुर थिए तर श्रीमतीलाई उपचारको लागि अस्पताल लग्न र हेरचाह गर्नु पर्ने भए पछि आर्थिक स्रोत नै बन्द भएको छ । कक्षा १२ मा अध्ययनरत कान्छी छोरी कविता आमालाई बचाउन उपचारको लागि आर्थिक सहयोगको अपिल गर्छिन् । दैनिक आशु खसाल्दै बस्न बाध्य भएकी छिन । कुम्वदेवीको जेठी छोरीको विवाह भइसकेको छ भने जेठा छोरा मानसिक रूपमा कमजोर भएको उनी छोरी कविता बताउँछिन् । कान्छा भरखर कक्षा ८ मा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्