इटहरी उपमहानगरको आठौँ नगरसभा सम्पन्न


इटहरी, ४ चैत । इटहरी उपमहानगरको आठौँ नगरसभा सम्पन्न भएको छ । फागुन १४ गते सुरु भएको सभा चैत २ र ३ गरी तीन दिन बसेर सम्पन्न भएका हो ।

सभाले १ अर्ब ९५ करोड ४० लाखको संशोधित पूरक आय व्यय अनुमान पारित गरेको छ । यसै गरी विनियोजन ऐन संशोधन विधेयक र आर्थिक ऐन संशोधन विधेयक पारित भएको छ ।

यसै गरी नगरसभाले इटहरी उपमहानगरका कर्मचारीको तह तथा स्तरवृद्धि सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७७ र इटहरी उपमहानगरका कर्मचारीको स्थायी तथा करार नियुक्ति गर्ने सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७७ पारित गरेको छ ।

यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक,इटहरी उपमहानगरपालिकाको केही ऐनलाई संशोधन गर्न वनेको विधेयक,इटहरी स्वास्थ्य ऐनका सम्बन्धमा वनेको विधेयक,इटहरी भूउपयोग तथा जग्गा व्यवस्थापन गर्न वनेको विधेयक,टोल विकास संस्था सञ्चालन तथा व्यवस्थापन गर्न वनेको विधेयक पारित भएको छ । सभामा विधेयक माथि भएको छलफलमा नगरसभा सदस्यहरू गणेश केसी,तोया ढकाल र कुमारी न्यौपानेले भाग लिनुभयो ।

छलफलमा उठेका विषयको उपप्रमुख लक्ष्मी गौतमले जवाफ दिनुभयो । सभाको समापनमा मन्तव्य व्यक्त गर्दै प्रमुख द्धारिकलाल चौधरीले कोरोना महामारीका कारण लक्ष्य बमोजिमको राजश्व सङ्कलन हुन नसक्दा सातौँ नगरसभावाट स्वीकृत कार्यक्रम र विकास निर्माणमा असर परेको बत्ताउनुभयो ।

यस्तो परिस्थितिमा सीमित स्रोत साधनका बाबजुद पनि नगरवासीका आकाङ्क्षा र चाहना पूरा गर्न उपमहानगर लागि परेको बत्ताउनुभयो । उहाँले आठौँ नगरसभाले पारित ऐन कार्यान्वयनमा लागि पर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्