कसको पल्ला भारी ? : बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आसन्न निर्वाचन


बेलबारी, मोरङ । बेलबारी साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि तीन दलीय गठबन्धनले उम्मेदवार घोषणा गरेर प्रचार प्रसारलाई महत्त्व दिएसँगै बेलबारीमा चुनावी माहोल सिर्जना भएको छ ।

खाने पानी संस्थाको तेस्रो साधारणसभा अन्तर्गत यही चैत ७ गते शनिवार हुने निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् । उपाध्यक्ष, सचिव र तीनजना खुल्ला सदस्यहरूका पदममा गठबन्धनका सबै उम्मेदवार निर्विरोध भैसकेका शनिवार हुने निर्वाचनमा अध्यक्ष, कोषाध्यक्ष र खुला सदस्य २ गरी चार जनाका लागि मात्रै मतदान हुँदै छ ।

तीन दलीय गठबन्धनले चुनाव प्रचार प्रसारलाई व्यापक बनाए पनि उता नेकपा एमालेको समर्थन पाएका व्यवसायी खेम गौतमले सामाजिक सञ्जाललाई चुनाव प्रचारमा मुख्य माध्यम बनाएका छन् । तर गठबन्धनले भने बेलबारी १ स्थित रिभरसाईड रिपोर्टमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर उम्मेदवार परिचय तथा प्रतिबद्धता सार्वजनिक मात्र गरेनन् उनीहरूले घरदैलो समेत गरेको छ ।

तीन दलीय गठबन्धनबाट अध्यक्षमा काँग्रेसकी रुक्मिणी धिमाल, उपाध्यक्षमा जनता समाजवादीका केशव घले, सचिवमा माओवादी केन्द्रका जगबहादुर क्षेत्री र कोषाध्यक्षमा डिल्लीराज गिरी “उत्तम“ले उम्मेदवारी दिएका छन् । खुला सदस्यमा काँग्रेसका प्रेमबहादुर गुरुङ र गणेश बस्नेत, महिला सदस्यमा माओवादी केन्द्रकी शर्मिला लुङ्गेली, जनता समाजवादीकी बबिता राई र काँग्रेसकी सीतादेवी बास्तोलाले उम्मेदवारी दिएका थिए ।

कसको पल्ला भारी ?

आफूलाई स्वतन्त्र उम्मेदवार माने पनि नेकपाको समर्थनमा उम्मेदवार दिएका चुनाव जित्ने आशा राखेका खेम गौतम करिब ७ वर्षअघि बेलबारीबाट बेचिएको लायन्स क्लबको एम्बुलेन्स फिर्ता ल्याउन सफल भएर एकाएक चर्चामा आएका हुन् ।

यसरी हेर्दा दुवै चर्चामै रहे पनि रुक्मिणी धिमाललाई नेकपा एमाले बाहेक तीनवटै दलको समर्थन रहेकोले गौतमको भन्दा धिमालको पल्ला भारी हुने जानकारहरू बताउँछन् ।

केहीले भने सामाजिक संस्थाको निर्वाचनमा पार्टीको प्रभावले शतप्रतिशत रूपमा काम नगर्ने हुनाले अहिले नै यसैले जित्छ भनेर भन्न नसकिने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्