बीपी प्रतिष्ठानमा विश्वस्तरीय शल्यक्रिया सरल र सस्तो बन्दै


धरान, ११ चैत्र । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतबार पाठेघरमा (१०।१० एमएम) को अ‍ैजेरू (मासु पलाएको) समस्या लिएर एक ३९ वर्षिया बिरामी शल्यक्रियाको लागी आइपुगिन ।

सामान्यतया शल्यक्रिया भन्ने साथ आम जनमानसमा पेट चिर्ने, काट्ने, दुख्ने पर्याय शब्दले त्रसित गराउने गर्छ र त्यसमाथि महँगो भन्ने शब्दले झनै पिरोल्छ । तर वीपी प्रतिष्ठानका चिकित्सक भने बिरामीलाई कसरी त्यस्ता पीडा नहोस् र कसरी बिरामीको सर्वोपरि हितका लागि शल्यक्रिया गर्न सकियोस् भन्नेमै जुट्न व्यस्त रहन्छन् ।

यसै सोचका साथ प्रतिष्ठानमा शल्यक्रियालाई सरल, सुरक्षित तथा सस्तो बनाउनका लागी प्रतिष्ठान मा गाइनो ल्यापारोशकोपिक (दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया) सर्जनका रूपमा परिचित डा. अजय अग्रवाल र डा. मदन खड्का लागिपरेका छन् । हालै मात्र ताइवानबाट यस विषयमा फेलोसिप गरी नेपालमा सेवामा जुटेका डा. अग्रवाललाई डा. मदनले साथ दिँदै उक्त बिरामीको सोमबार नै सफल शल्यक्रिया गरिएको तथा मंगलबार डिस्चार्ज समेत गरिएको छ ।

नेपालमै गुणस्तरीय अत्याधुनिक शल्यक्रिया गरिनुपर्छ र त्यो आम नेपाली जनताको पहुँचमा हुनुपर्ने डा. अग्रवालले बताए । “ताइवानमा सबैजसो शल्यक्रिया चाहे जटिल किसिमको होस या सामान्य किसिमको प्रायः सबै शल्यक्रिया दूरबिन प्रविधिबाट पेट नचिरीकन गरिन्छ । यस प्रकारका शल्यक्रियामा पेटमा घाउ हुँदैन, दाग बस्ने त कुरै भएन, बिरामीको घाउ पाक्ने सम्भावना कम हुने, दुखाई कम हुने, बिरामीलाई अस्पतालबाट चाँडै डिस्चार्ज गर्न मिल्ने, अप्रेसन पूर्वको स्थितिमा चाँडै पुग्ने थुप्रै फाइदा हुने गरेको छ“ उनले भने ।

दूरबिन प्रविधिबाट गरिने शल्यक्रिया पेट चिरेर गर्ने शल्यक्रिया भन्दा केही महँगो हुन्छ । यसमा लाग्ने औजार उपकरण सबैजसो विदेशबाट ल्याउनुपर्ने हुन्छ तर हामी बिरामीलाई कसरी कम खर्च मा गराउन सक्छौँ त्यसमा बढी केन्द्रित रहेको डा. अग्रवालले बताए । “प्राय प्रयोगमा हुने महँगो उपकरण कमभन्दा कम प्रयोग गरी यो सेवा दिन आफ्नै तरिकाबाट गर्छौँ र त्यसमा हामी सफल भएका छौँ ।” हामी हप्तामा ४–५ शल्यक्रिया गर्दै आइरहेका छौँ र भविष्यमा यो बढ्दै जाने क्रममा विश्वस्त रहेको उनले बताए ।

“नेपालको अन्य अस्पतालहरूमा दूरबिन प्रविधिबाट शल्यक्रिया गर्दा मोरसलेटर डिभाइसको प्रयोग हुन्छ । अटोमेटिक हुने यस डिभाइस खरिद गरी शल्यक्रिया गर्दा बिरामीले महँगो शुल्क तिर्न पर्ने हुन्छ । तर हामीले दुरविनबाट समस्या हेरेर सानो प्वाल पारेर म्यानुअल रूपमा मासुको डल्लाहरूलाई काटेर लामो बनाएर त्यस प्वालबाट झिक्ने गरेका छौ ।” म्यानुअल गर्दा सस्तो र सुरक्षित हुने शल्यक्रियामा खटिएका डा. खड्काले बताए । हाम्रो शीप र कुशलता अझै निखार्दै लैजाने हो भने हामी आपत्कालीन शल्यक्रिया पनि दूरबिन प्रविधिबाट छिटो छरितो तरिकाले गर्न उनले बताए । शल्यक्रिया गर्ने टोलिला एनेसथेसियाका डा.पूर्णकला गुरुङ, नर्सहरूमा सुजता राई, प्रतिमा बस्नेत र वन्दना खड्का रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्