बेलबारी नगरपालिकाद्वारा पञ्चे–बाजा वितरण : संस्कृतीको संरक्षणसँगै व्यावसायिक बनाउँदै


मोरङ, ११ चैत । मोरङको बेलबारी नगरपालिकाले लोपोन्मुख नौमती बाजको संरक्षण सँगै व्यावसायिक बनाउन थालेको छ । विभिन्न शुभ कार्यका शुभ साइतका रूपमा लिइने बाजालाई लोप हुन नदिनका लागि नगरपालिकाले खरिद पञ्चे–बाजा संरक्षण समिति बेलबारी ११ लाई हस्तान्तरण गरेको छ ।

बुधवार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले पञ्चे–बाजा संरक्षण समितिलाई हस्तान्तरण गरेका हुन । बाजा सञ्चालनका माध्यमबाट रोजगारीको सुजना गर्ने, युवा पुस्तालाई नौमती बाजा बजाउन प्रोत्साहन गर्ने उद्देश्यले नौमती बाजा र पोसाक हस्तान्तरण गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए ।

नौमती बाजाको संरक्षणबाट नगरमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास समेत लिएको नगर प्रमुख सुवेदीको भनाई रहेको छ । नेपाली कला, संस्कृति र प्राकृतिक दृश्यहरू हेर्नका लागी विदेशी पर्यटकहरू नेपाल आउने गर्दछन् । विशेष गरी नौमती बाजाको धुन पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । विवाह उत्सव जस्ता शुभ कार्यमा नौमती बाजा बजाउने गरिन्छ ।

दुईवटा नरसिंह, दुई वटा सनही, दुईवटा दमाहा, एउटा ढलकी, एउटा ट्याम्को र एउटा झ्याली र नौमती बजाउनेहरूलाई एक एक थान कपडा वितरण गरिएको छ । नौमती बाजा पाएको पञ्चे–बाजा संरक्षण समितिले भने लोप हुँदै गएको संस्कार संस्कृतिको संरक्षण सँगै व्यावसायिक योजना बनाएर जाने बताएको छ ।

यसअघि परियार सेवा समाज बेलबारीलाई नगरपालिकाले नौमती बाजा दिएको थियो । उनीहरूले विवाह व्रतबन्ध पुराण जस्ता शुभ कार्यमा बजा बजाएर राम्रो आमदानी गरी रहेका छन् । नौमती बाजा लिँदै परिवार समाजले संरक्षण सँगै आमदानी पनि गर्ने सकिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्