सामाजिक विकास मन्त्री उषाकला राईद्वारा पदभार ग्रहण


विराटनगर, १४ चैत । सामाजिक विकास मन्त्री उषाकला राईले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा शपथ लिए लगत्तै मन्त्रालयमा पुगी पदभार ग्रहण गर्नुभयो हो ।

उहाँले पदभार ग्रहण गर्दै मन्त्रालयको काम नयाँ ढंगले गर्ने बताउनुभयो । उद्घाटन र समापनमा समय बिताउने भन्दा पनि मन्त्रालयको कामलाई बढी प्राथमिकता दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘उद्घाटन र समापनलाई धेरै प्राथमिकतामा राख्ने छैन ।’ जनता लक्षित कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढ्ने मन्त्री राईले बताउनुभयो ।

पदभार ग्रहणपछि कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा उहाँले फरक तरिकाले काम गर्ने सोच भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ केही नयाँ काम गरौँ ।’ कोरोना संक्रमण पुन ः बढ्न सुरु भएकाले यसको नियन्त्रणका लागि जुट्न उहाँले आग्रह गर्नुभयो । उहाँले अस्पतालहरूमा धेरै फोहोर हुने गरेको सुन्नमा आएकाले सरसफाइमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो । धेरै कार्यक्षेत्र रहेको सामाजिक विकास मन्त्रालयलाई प्रदेश १ कै उत्कृष्ट मन्त्रालयका रूपमा अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । परिचयात्मक कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मन्त्रालयको कार्यक्षेत्र, सम्पादन गरिरहेको काम, जनशक्ति लगायतका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्