इटहरीमा भूमि सम्बन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया सम्पन्न


सुनसरी, १४ चैत । इटहरीमा भूमि सम्बन्धी समस्या समाधानका लागि अन्तरक्रिया गरिएको छ । इटहरी उपमहानगरको आयोजनामा भूमि सम्बन्धी समस्या समाधानमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया गरिएको हो ।

इटहरीका सबै जनप्रतिनिधि,वडा सचिवहरू र राजनीतिक दलका प्रतिनिधिहरूको अन्तरक्रियामा सहभागिता रहयो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद सर्वध्वज सावाँले स्थानीय सरकारको काँधमा भूमि सम्बन्धी समस्या समाधान गर्ने ऐतिहासिक जिम्मेवारी आएको बत्ताउनुभयो । उहाँले द्रुत गतिमा काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले भूमि सम्बन्धी समस्या समाधान गरेर सुकुम्वासी विहीन नगर बनाउने सपना साकार बनाउने अवसरलाई सदुपयोग गर्ने बत्ताउनुभयो । उहाँले गलत व्यक्तिले फाइदा नउठाउन भनेर सजग रहनुपर्ने बत्ताउनुभयो । उपप्रमुख लक्ष्मी गौतमले अन्तरक्रियाको उद्देश्यमाथि प्रस्ट पार्नुभयो । उहाँले इटहरी उपमहानगरका प्रमुखको संयोजकत्वमा भूमि सम्बन्धी समस्या समाधान मूल समिति र वडाहरूमा वडाध्यक्षको संयोजकत्वमा वडा स्तरीय सहजीकरण समिति गठन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य गोपाल गुरागाईँले आयोग गठनको उद्देश्य र संवैधानिक कानुनी प्रबन्ध र स्थानीय निकायको दायित्वका बारेमा प्रस्ट पार्नुभयो । यसै गरी भूमि सम्बन्धी समस्या समाधान आयोग सुनसरीका अध्यक्ष खेमराज पोखरेलले भूमिहीन दलित,भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासी प्रमाणीकरणका आधारहरूका बारेमा जानकारी गराउनुभयो । यसै गरी भूमि सम्बन्धी समस्या समाधान आयोग मोरङका अध्यक्ष डिपि राईले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवासीको लगत संकलन सम्बन्धी कार्यविधिका बारेमा प्रस्ट पार्नुभयो ।

भूमि सम्बन्धी समस्या समाधान आयोग सुनसरीका सदस्य सूर्य राईले सुनसरीमा आयोगले गरिरहेका कार्यका बारेमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्