एपिएफ र साइनो फाइनलमा भिड्दै : मिल्स गोल्डकप


विराटनगर, १४ चैत । पहिलो मिल्स गोल्डकपको उपाधि हात पार्न सशस्त्र प्रहरी (एपीएफ) पूर्वाञ्चल र साइनो स्पोर्ट्स क्लब रानी मोरङबिच प्रतिस्पर्धा हुँदै छ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा शनिवार अपराहन्न हुने गोल्डपको फाइनलमा उपाधि हात पार्न एपिएफ र साइनोले आ–आफ्नै रणनीति तय गरी भिड्ने भएको हो ।

साइनोले बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा धरानलाई १–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ भने एपीएफले पहिलो सेमिफाइनलमा एलेभने एरोज क्लब दुहबीलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

साइनो स्पोर्ट्स क्लबका प्रशिक्षक राजु थापाले यस अघि भएको खेलमा डिफेन्स र मिडफिल्डमा देखिएको कमजोरी सच्याएर फाइनलमा प्रस्तुत हुने बताए । एपीएफ शारीरिक रूपमा बलियो रहेकाले पनि हाम्रा खेलाडीहरूलाई नयाँ रणनीति अपनाएर खेल्नुपर्ने अवस्था भएको उनले बताए ।

‘अहिलेसम्म खेलाडीहरूको मेहनतको कारणले जित सम्भव हुँदै आएको छ,’ उनले भने फाइनलमा ४, ३, ३ रनिङ्गमा खेलाडी मैदानमा उत्रार्नेछु ।’  हामीले विपक्षीलाई रोक्न योजना बनाएर अगाडी बढने उनको भनाई छ ।

यता एपीएफका प्रशिक्षक सुवास गिरीले खेलाडीको मिहेनतका कारणले जित निकाल्दै फाइनलमा पुगेको बताए । फाइनलमा नयाँ रणनीति अपनाएर खेलाडी उपाधिको लागि मैदानमा उत्रिने उनले बताए ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको विजेता नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपविजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्