इटहरी उपमहानगरको नगरशिक्षा समितिद्वारा ६ बुँदे निर्णय


इटहरी, १४ चैत । इटहरी उपमहानगरको शिक्षा महाशाखाले नगरशिक्षा समितिको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । आन्दोलनरत विद्यार्थीहरू र हिसानका प्रतिनिधिहरू सहभागी कार्यक्रममा शिक्षा महाशाखा प्रमुख सूर्य प्रसाद सुवेदीले निर्णय सार्वजनिक गर्नुभएको हो ।

इटहरीका संस्थागत विद्यालयको कक्षा ११ र १२ मा देखिएको शुल्क सम्बन्धी समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा निर्णय भएको हो । इटहरी उपमहानगर वडानम्वर ४ का अध्यक्ष चन्द्र भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।

कोरोना महामारीको समयको समेत निजी कलेजले शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका थिए ।

नगर शिक्षा समिति इटहरीको मिति २०७७।१२।११ गतेको बैठकका निर्णयहरू :

१. भौतिक कक्षा सञ्चालन हुन पूर्व यातायात शुल्क बापतको रकम लिइएको भए सो बापतको रकम सम्बन्धित विद्यार्थी अभिभावकलाई फिर्ता गर्ने । राष्ट्रिय परीक्षा बोर्डले लिइएको परीक्षा शुल्क बाहेक परीक्षा सञ्चालनार्थ लिइएको शुल्क परीक्षा सञ्चालन नभएको भए सो बापतको रकम सम्बन्धित विद्यार्थी अभिभावकलाई फिर्ता गर्ने ।

२. विद्यालय सञ्चालनका क्रममा आन्तरिक रूपमा देखिएका समस्याहरू सरोकारवालहरूसँग समन्वय गरी सम्बन्धित विद्यालयहरूले आन्तरिक रूपमा समाधान गर्ने व्यवस्था मिलाउने ।

३. शैक्षिक सत्र २०७७ मा संस्थागत विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले तिर्नुपर्ने १२ महिना बराबरको मासिक शुल्कलाई पूर्ण शुल्क मानी २ महिना बराबरको रकम छुट दिने । तर उक्त रकम बराबरको सुविधा यस अघि नै लिई सकेको भए दोहोरो छुट दिन बाध्य नहुने ।

४. संस्थागत विद्यालयका कर्मचारीहरू माथि भएको सांघातिक आक्रमण,कुटपिट तथा विद्यालय तोडफोड जस्ता कार्यहरू प्रति दुख व्यक्त गर्दै आगामी दिनमा यस्ता प्रकृतिका अमानवीय गतिविधिहरू नहुने वातावरण निर्माणका लागि सम्बद्ध सबै पक्षलाई अनुरोध गर्ने ।

५. विद्यालयलाई शान्ति क्षेत्र कायम गरी भयरहित,सौहार्दपूर्ण तवरले शिक्षक विद्यार्थीहरूको पठनपाठनका गतिविधि सञ्चालन गर्ने वातावरण सिर्जनाका लागि स्थानीय प्रशासन समक्ष अनुरोध गर्ने ।

६. विश्व महामारीका रूपमा फैलिएको कोरोनाका कारण विद्यालयहरूमा सिर्जित शुल्क सम्बन्धी समस्या समाधानको प्याकेजमा सहभागिताका लागि सम्बन्धित विद्यालयमा कार्यरत शिक्षकहरूलाई अनुरोध गर्ने ।

प्रतिक्रिया दिनुहोस्