प्रदेश–१ को माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्वो


विराटनगर, १६ चैत । प्रदेश–१ को माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्वो चयन भएका छन् । आज (सोमबार) विराटनगरमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले इन्द्रबहादुर आङ्वोलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

माओवादी केन्द्रकी ज्येष्ठ सदस्य शौभाग्यवती राईको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको विधान पारित गरेको र दलको नेतामा आफूलाई चयन गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले जानकारी दिए । यस्तै सोमबार नै दलका नेता इन्द्रबहादुर आङ्वोको अध्यक्षतामा बसेको दोस्रो बैठकले संसदीय दलको उप नेतामा रामकुमार राई, प्रमुख सचेतक झलकबहादुर मगर र सचेतकमा शौभाग्यवति राईलाई चयन गरेको छ । यस्तै माओवादी केन्द्रका साबिक संसदीय दलका नेता टंक आङ्बुहाङ्लाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

आङ्वुहाङले दल छाडेको भन्ने जवाफ दिए वा कुनै जवाफ नदिएको खण्डमा संसदीय दलको सदस्यबाट हटाउने प्रक्रिया सुरु गर्ने आङ्वोले जानकारी दिए । यस्तै प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावका सम्बन्धमा नेकपा एमालेको माधव नेपाल पक्षसँग छलफल गरेर अघि बढ्ने आङ्वोले बताए ।

उनले प्रदेशसभामा अविश्वासको प्रस्ताव टुंगोमा नपुग्दै सरकारले मन्त्रिपरिषद्को पुनर्गठन गर्नु संसदीय मूल्य मान्यता र कानुनी राज्य विपरीत भएको आङ्वोको दाबी छ। उनले भने ‘प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्ताव कानुनी रूपमा टुंगोमा नपुग्दै मन्त्रिपरिषद् विस्तार गर्नु संसदीय व्यवस्था र मूल्य मान्यता विपरीत हो ।’

दलको नेतामा चयन भएका आङ्वो प्रदेश १ को पूर्व आर्थिक मामिला तथा योजनामन्त्री हुन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि आङ्वोले पदबाट राजीनामा दिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएका थिए ।

यता सर्वोच्च अदालतको आदेशपछि माओवादी केन्द्र प्रदेश–१ का संसदीय दलका नेता टंक आङ्बुहाङ माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका थिए । उनी पछिल्लो पटक मुख्य मन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेपछि प्रदेश–१ को आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्