ओलीद्वारा पार्टी सदस्यता निलम्बन पछि नेपालले भने, ‘त्यसको केही अर्थ छैन’


काठमाडौं, १६ चैत । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता निलम्बन गरेपछि वरिष्ठ नेता माधवकुमार नेपालले आफूमाथि गरिएको कारबाहीको कुनै औचित्य नभएको बताएका छन् ।

सोमबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई पार्टी सदस्यबाट ६ महिनाको लागि निलम्बित गरेका छन् । वरिष्ठ नेता नेपालले भने, ‘त्यसको केही अर्थ छैन । केपी ओली नेकपा एमालेको केन्द्रीय कमिटी अध्यक्ष नै होइन । उनले केन्द्रीय कमिटी पनि भङ्ग गरिसके । त्यही भएर उनले कारबाही गर्न मिल्दैन । उनले विधान विपरीतको कदम चालेको हुँदा अवैधानिक अध्यक्ष हो ।’ ओली आफूहरूमाथि असहिष्णु रूपमा उत्रिरहेको बताउँदै नेता नेपालले भने, ‘यो ओलीको नाङ्गो नाच हो । यसले ओलीको चरित्र उदाङ्गो बनाएको छ ।’

वरिष्ठ नेता नेपाल भने, ‘पत्र आएको त छैन । कसलाई कसलाई थप्ने हो, को–कसलाई निकाल्ने हो उनको देब्रे हातको कुरा हो । उनलाई पार्टी चाहिए पो, उनी त अराजक भएका छन् । त्यही भएर के के गर्छन्, उनको कुरा भो ।’

प्रतिक्रिया दिनुहोस्