महामारी नियन्त्रण बाहिर गएपछि मोदीले बोलाए आकस्मिक बैठक


नयाँ दिल्ली, १७ वैशाख । भारतमा कोरोना महामारी नियन्त्रणभन्दा बाहिर गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना सङ्कट समीक्षाका लागि आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

भारतमा कोरोना सङ्क्रमणको दर तीव्र रूपमा बढीरहेको छ । सावधानी नअपनाउने हो भने यसले भयावह रूप लिने विश्लेषकहरूको मत रहेको छ ।  कोरोनाको दोस्रो लहर सुरु भएयता मन्त्रिपरिषद्को बैठक पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत बस्न लागेको हो । बैठकमा कोराना महामारीका नियन्त्रणका सम्बन्धमा भए गरेका कमको समीक्षा र त्यसको नियन्त्रणका लागि अव गर्नु पर्ने भूमिकाको बारेमा प्रधानमन्त्री मोदीबाट थप निर्देशन आउने आसा गरिएको छ ।

यसअघि नै प्रधानमन्त्री मोदीले भारतीय सेनाध्यक्ष जनरल एमएम नरवणेसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीसँगको भेटवार्ता पश्चात् कोरोना नियन्त्रणका लागि सेनालाई थप सक्रिय बनाइएको छ । भारतमा कोरोनाका कारण एकै दिन ३ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबिस घण्टामा ३ लाख ८६ हजार भन्दा धेरै सङ्क्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार बिहीबार गरिएको परीक्षणमा ३ लाख ८६ हजार ४ सय ५२ बढी सङ्क्रमित थपिएका हुन् । पछिल्ला केही दिनयता भारतमा हरेक दिन साढे ३ लाख भन्दा धेरै सङ्क्रमित थपिने गरेका छन् भने दैनिक ३ हजार भन्दा धेरै मानिसको मृत्यु भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्