कोरोना कहर : कतै विद्यालय बन्द, कतै धमाधम परीक्षा, अभिभावक भने दोधारमा(फोटो फिचर)


बेलबारी, १७ वैशाख । कोरोनाको त्रास बढिरहेको छ । पछिल्लो तथ्याङ्कले कोरोनाको सङ्क्रमण दर तिव्रतर गतिमा बढिरहेको देखाउँछ । छिमेकी राष्ट्र भारतको सङ्क्रमण दर र त्यसले निम्त्याएको भयावह अवस्थाले हेर्ने हो भने त्यो अवस्था नेपालमा पनि नआउला भन्न सकिन्न । तर कोरोना कङ्क्रमणलाई रोक्न राज्यको तर्फबाट जति तयारी हुनुपर्ने हो त्यो हुन सकेको देखिँदैन । त्यसो त राज्य अहिले विगतको जस्तो अधिराज्यभर लकडाउन गरेर थप आर्थिक भार बेहोर्ने पक्षमा देखिन्न ।

पछिल्लो तथ्याङ्कले कोरोनाको यो दोस्रो लहरले बालबालिकामा बढी प्रभाव पारेको देखाउँछ । पछिल्लो समयमा स–साना बालबालिका तथा युवाहरू नै यसबाट बढी मात्रामा सिकार भएका देखिन्छन् । यही तथ्यलाई मध्यनजर गरेर सङ्घीय सरकारले देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरू अर्को सूचना नआए सम्मका लागि बन्द गर्ने निर्णय त गर्‍यो तर त्यसको कार्यान्वयनमा भने त्यति कडाइ गरेको देखिन्न । अझै पनि धेरैजसो विद्यालयहरू निर्बाध रूपमा सञ्चालन भइरहेको तथ्यले यही कुरालाई पुष्टि गर्दछ ।

यतिखेर मोरङ जिल्लाका अधिकांश स्थानीयपालिकामा रहेका शैक्षिक संस्थाहरू बन्द रहेका छन् । तर पूर्वपश्चिम लोकमार्गसँगै जोडिएको सुन्दरहरैँचा नगरपालिकामा रहेका सम्पूर्ण शैक्षिक संस्थामा भने यतिखेर धमाधम परीक्षा सञ्चालन भइरहेको छ । यो सूचना पाउनसाथ हामीले वास्तविकता बुझ्न स्थलगत रिपोर्टिङ गर्‍यौ। परीक्षा सञ्चालनमा के कसरी स्वास्थ्य मापदण्ड अपनाइएको रहेछ भनेर रिपोर्टिङको क्रममा सुन्दरहरैँचामा रहेका केही विद्यालयमा पुगेर हेर्‍यौँ । ती विद्यालयले न्यूनतम मापदण्ड पुरा गरेरै परीक्षा सञ्चालन गरिरहेको पाइए पनि यसको विश्वसनीयताका बारेमा विद्यालय सञ्चालक तथा शिक्षकहरू स्वयम् नै दुबिधामा देखिन्थे । ‘स–साना नानीहरूलाई जति सम्झाए पनि माक्स फुकालिहाल्छन् । माक्स लाउँदा लाउँदा निसास्सिएको महसुस हुँदो हो । स्थानीय सरकारले नै परीक्षा चाँडो सक्नु भनेकाले दिनमा दुई दुईवटा गरेरै भए पनि हामी जसरी पनि परीक्षा चाँडो सक्ने योजनामा छौँ ।’ रिपोर्टिङको क्रममा भेटिएका एक जना शिक्षकले यसरी गुनासो पोखे ।

“केही विद्यालयमा चाहिँ पत्रकार आए अव प्रहरी आएर परीक्षा नै रोकिदिने पो हुन् कि, भन्ने त्रास पनि देखिन्थ्यो । तर हामी विद्यालय बन्द गर्नुपर्छ भन्ने पक्षमा नभएर स्वास्थ्य मापदण्डको प्रयोग के कसरी भइरहेको छ भन्ने बारेमा बुझ्न आएका भने पछि मात्र उनीहरू ढुक्क भएका थिए ।”

प्याब्सन मोरङका अध्यक्ष एवम् सिद्धार्थ इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेत भने बालबालिकाको मनोविज्ञानलाई मध्यनजर गरेर नै परीक्षालाई निरन्तरता दिएको बताउँछन् । उनी स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य प्रोटोकलको पूर्ण रूपमा पालना गरेरै, उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गरिरहेकोले अभिभावकहरूलाई ढुक्क हुन आग्रह गर्दछन् । उनी भन्छन् – हामी सधैँ बालबालिकाको स्वास्थ्यमा सचेत छौँ । हामीले उच्च सतर्कता अपनाएका छौँ । हाम्रोमा सेनिटाजिर टनेलको प्रयोग गरिएको छ । गाडीमा पस्दैखेरि विद्यार्थीलाई माक्स र सेनिटाइजरको प्रयोगलाई अनिवार्य गरिएको छ । जुन क्षेत्रबाट आएका विद्यार्थीहरू हुन् उनीहरूलाई अलग्गै बसेर परीक्षा दिने वातावरण मिलाइएको छ ।’

देशैभरका शैक्षिक संस्था बन्द हुँदा सुन्दरहरैँचाका शैक्षिक संस्थाहरू भने बन्द किन भएनन् नि, कि यहाँ कोरोनाको प्रकोप नदेखिएर हो भन्ने हाम्रो प्रश्नमा नगरप्याब्सन सुन्दरहरैँचा अध्यक्ष हरिश्चन्द्र ढकालले परीक्षा सञ्चालन गर्ने समयसम्म नगरपालिभित्र त्यस्ता घटना नभएकाले परीक्षा चाहिँ सक्ने निर्णय भएको हो भन्न जवाफ दिएका छन् । उनले आफूहरू पनि जतिसक्दो चाँडो परीक्षा सकेर विद्यालय बन्द गर्ने पक्षमा रहेको बताए । साथै उनले उच्च सतर्कता अपनाएरै परीक्षा चलिरहेको र भोलिसम्ममा प्राय सबै परीक्षा सकिने पनि बताए ।

प्याब्सन बेलबारी अध्यक्ष भूपाल बस्नेत भने बालबालिकाको स्वास्थ्यभन्दा अरू ठुलो कुरा नभएको बताउँदै सङ्घीय सरकार तथा स्थानीय सरकारको निर्णयलाई समर्थन गर्दै विद्यालय बन्द गर्ने कुरामा सहयोग गरेको बताउँछन् । शिक्षा सन्देश इं स्कुलका काउन्सिलसमेत रहेका बस्नेतले सहज वातावरण बन्नसाथ रोकिएका विषयहरूको परीक्षा सञ्चालन हुने बताउँछन् ।

उता केराबारी गाउँपालिकाका शिक्षा शाखा प्रमुख अर्जुन घिमिरेले बालबालिका स्वास्थ्यभन्दा अरू ठुलो कुरा केही नभएको प्रतिक्रिया दिँदै गाउँपालिका भरिका सम्पूर्ण विद्यालयहरू वैशाख १६ गतेदेखि अर्को सूचना नआएसम्म बन्द रहेको बताए ।

यता बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइराला भने एक वा सवाघण्टामा लिइने परीक्षाले मात्र बालबालिकाको सिकाइको स्तर मापन गर्न नसक्ने बत्ताउँछन् । उनी यस्तो अवस्थामा परीक्षा भन्दा पनि बालबालिकाको स्वास्थ्यको बारेमा सोच्नुपर्ने विचार व्यक्त गर्छन् ।

अभिभावकहरू यसो भन्छन् :

यसबारेमा अभिभावकहरूको भने मिश्रित प्रतिक्रिया रहेको छ । यसरी छिमेकमै रहेको सुन्दरहरैँचा नगरपालिकाका विद्यालयमा परीक्षा सञ्चालन हुँदा कोरोना नलाग्ने तर बेलबारीका विद्यालयमा कोरोना लाग्ने भन्ने विषय हास्यास्पद रहेको बेलबारीका अभिभावकहरूको तर्क रहेको छ भने परीक्षा सञ्चालन भैरेका विद्यालयका अभिभावकहरूले भने यसबारेमा खासै प्रतिक्रिया दिन चाहेनन् ।

बेलबारीमा २ मा रहेको शिक्षा सन्देश इं स्कुलमा आफ्नी छोरी पढाइरहेका नवराज पोखरेल ‘नवशीला’ले परीक्षा रोकिएकोमा दुःख व्यक्त गरेका छन् । उनले फेसबुकमै यसरी दुःखेसो पोखेका छन् ‘नानीबाबुहरूले हिजो र आज दुई दिन परीक्षा दिए । अव भोलिबाट फेरि बन्द । यस्ता सूचनाले बालबालिका तथा अभिभावकहरूमा के असर पर्छ भन्ने बारेमा सोच्नु पर्ने भो अब ।’ उनले यसरी बिचमै परीक्षा रोकिदा बालबालिकाको मानसिकतामा ठुलो असर पर्ने विचारसमेत व्यक्त गरेका छन् । परीक्षा दिन धेरै उत्साहित भएका बालबालिकामा अब परीक्षा हुने कि होइन भन्नेमा ठुलो शंका रहेकोले बताउँदै त्यो उत्साह फर्काउन कठिन हुने उनको विचार रहेको छ ।

साथै सङ्घीय सरकारको निर्णयलाई मान्दै १६ गतेदेखि सम्पूर्ण शैक्षिक संस्थाहरू अर्को सूचना नआएसम्म बन्द गर्न बेलबारी नगरपालिकाको सूचना आएलगत्तै बेलबारी २ लालभित्तीमा रहेको मोरङ चिनारीका प्रिन्सिपल समेत रहेका स्थानीय लीला गिरीले सामाजिक सञ्जालमार्फत गरिबहरूले अब मेटासिट खाएर मर्ने बेला आएको भनेर प्रतिक्रिया दिएका छन् । आखिर यो डरको व्यापारमा झुक्किएर कहिलेसम्म सिकार हुने भनेर प्रश्न तेर्स्याएका छन् । उनले यसलाई लुटको संज्ञा दिएका छन् ।

उता सुन्दरहरैँचाका दीपक न्यौपानेले भने यस्तो महामारीको बेलामा विद्यालय बन्द नगरी परीक्षा सञ्चालन गरिएकोलाई उचित कार्य मानेका छैनन् । सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापकसमेत रहेका न्यौपानेले सामाजिक सञ्जालमा नगरपालिकालाई ध्यानाकर्षण गराउँदै भनेका छन् –कोरोनाको प्रकोप अत्यन्तै तीव्र गतिमा बढिरहेको छ । जताततै सङ्क्रमितहरू बढिरहेका छन् । छिमेकका पालिकाहरूले पठनपाठन स्थगित गरिसकेका छन् । निषेधाज्ञा लगाउनुपर्ने बाध्यता जताततै आइरहेको छ । सुन्दरहरैँचा नगरपालिकाभित्रै सङ्क्रमितको सङ्ख्या उल्लेख्य भइसकेको छ । यस्तो विकराल परिस्थितिमा सुन्दरहरैँचाका विद्यालयहरू भने दिनमा चार वटासम्म परीक्षा लिइरहेका छन् । यहाँका विद्यालयलाई किन यति हतार भएको रु परीक्षा लिइदिएपछि सबै समस्या समाधान हुन्छ रु हाम्रा नानीबाबुहरू जोखिममा परे भने को जबाफदेही हुन्छ रु कसरी विद्यार्थीहरूले एकै दिन चारवटा विषयको परीक्षा दिन्छन् रु यस विषयमा सम्बन्धित पक्षले तत्काल ध्यान दिनु जरुरी देखियो ।’

कोरोको सङ्क्रमणको दरलाई हेर्ने हो भने यसो परिणाम भयावह नआउला भन्न सकिन्न । यसतर्फ सबैले बेलैमा सोचेर कोरोनालाई सामान्य ठान्ने गल्ती गर्नुहुन्न । ज्यान रहेमा मात्र अरू कुरा सोच्न सकिने भन्ने अभिभावकहरूको विचारलाई गलत मान्ने आधार भने देखिँदैन । तसर्थ सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्