नेपाललाई प्राप्त भयो ८५ लाख डलर अमेरिकी सहयोग


काठमाडौँ, १८ वैशाख । कोरोना महामारी सामना गर्न अमेरिकाले नेपाललाई थप ८५ लाख डलर सहयोग प्रदान गर्ने भएको छ ।

महामारीको रूपमा फैलिरहेको कोरोनाले झन् विकराल रूप लिएपछि आपतकालीन सेवाका लागि अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत् सो सहयोग प्रदान गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले यो थप सहयोगले नेपाल सरकारलाई कोभिड–१९ सम्बन्धी रोगको परीक्षण, अनुसन्धान, कन्ट्याक्ट ट्रेसिङ, उपचार, सङ्क्रमण रोकथाम, नियन्त्रण, सीमा नियन्त्रण र सङ्घीय, प्रादेशिक तथा स्थानीय तहमा थप कामहरू गर्नका लागि सहयोग पुग्नेछ आसा लिएको छ ।

सबैभन्दा जोखिममा रहेका समूहलाई सहयोग गर्न समुदाय तहमै काम गर्दै आएका नेपाल र यूएसएडलाई थप सहयोग पुग्ने आसा गरिएको छ । सो सहयोगबाट कोभिड परामर्श, पोषण परामर्श, स्वास्थ्य सेवामा पहुँच, जटिल एचआइभी लगायतका सेवाहरू प्रदान गरिने बताइएको छ ।

कोरोना महामारीको सुरुवातदेखि नै नेपाललाई अमेरिकाले सहयोग गर्दै आएको जनाउँदै दूतावासले यो समस्यामा नेपाल सरकारसँग सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ । दूतावासको वक्तव्यमा भनिइएको छ ‘अमेरिका र नेपालबिचको ७०–वर्षे बलियो सहकार्य र साझेदारीलाई थप सशक्त पार्ने अमेरिकाले आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याउँछ ।’ 

प्रतिक्रिया दिनुहोस्