गाउँगाउँमा पुगेर बाली परीक्षण गर्दै बेलबारीका नगरपालिका : शिविरबाट झण्डै ४ सयजति किसान लाभान्वित (फोटो फिचर)


 बेलबारी, २० वैशाख । बेलबारी नगरपालिकाले कृषकहरूले लगाएका बालीमा देखिएका समस्याको समाधान गर्ने उद्देश्यका साथ संचालनत गरेको बाली शिविरमा ४ सय भन्दा बढी कृषक लाभान्वित भएका छन् ।

कृषिलाई भरपर्दो पेसाको रूपमा विकास गर्न सकियोस् भनेर यतिखेर बेलबारी नगरपालिकाले किसानका घरघरमा पुगेर बाली परीक्षण गरिरहेको छ ।  कृषकहरूले लगाएको विरुवा तथा बालीमा किरा लाग्ने, फलफूल पाक्नु अघि नै झर्ने, बाली नसप्रने आदि समस्या देखिए पछि नगरपालिकाले गाउँगाउँमै कृषि वैज्ञानिक पठाएर परीक्षण सुरु गरेको हो । यो बाली शिविरमा कृषि अनुसन्धान केन्द्र तरहराका वैज्ञानिक किशोर भण्डारीसहित पालिकाका कृषि प्राविधिकहरुलेसहजीकरण गरेका छन् । 


रोग, किरा तथा कतिपय अवस्थामा खाध्यतत्वको अभाव विभिन्न प्रकारका रोगहरू देखिने गरेको कृषि अनुसन्धान केन्द्र तरहराका वैज्ञानिक किशोर भण्डारी बताउँछन् । मुख्यतया मकै बालीमा फौजी किराको प्रकोप बढी देखिएको आफूहरूले परीक्षण गरेर आवश्यक सल्लाह तथा उचित विषादीको प्रयागको सिफारिस गरेर पठाएको कृषि वैज्ञानिक भण्डारीले बताए । 

शिविरमा खाद्यान्न बाली, तरकारी, फलफूल लगायतमा लाग्ने रोग तथा किराहरूको पहिचान, रोकथाम, नियन्त्रण विधि तथा परामर्श प्रदान गरिएको र रोग निदानका उपायहरू खोजेर कृषकहरूलाई परम्परागत रूपमा जीविकोपार्जनको लागि अपनाउँदै ल्याएको कृषि कार्यलाई आयआर्जन र व्यवशायिकतातर्फ अग्रसर बनाउन सिविरले ठूलो सहयोग पुग्ने बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली बताउँछिन् । 

बिहिबादेखि सुरु भएको शिविरमा किसानहरूले ल्याएका खाद्यान्न बाली, तरकारी, फलफूलहरूको परीक्षण गरिएको, यो शिविरबाट ४ सय भन्दा बढी कृषक लाभान्वित भएको बेलबारी नगरपालिकाका कृषि शाखा प्रमुख विनोद दाहाल बताउँछन् । 


साथै नगरपालिकाले कृषिलाई बढोत्तरी गर्न उन्नत जातका बिउ तथा कृषि औजार वितरणसमेत गरिरहेको छ । यसरी नगरपालिकाले गाउँगाउँमा आएर आफूहरूले लगाएका बालीको परीक्षण गरिदिए पछि स्थानीय पनि उत्साहित भएका छन् । उनीहरूले नगरपालिकालाई धन्यवादसमेत दिएका छन् । 

पछिल्लो समय रासायनिक मल तथा विषादिको अनियन्त्रित प्रयोग भैरहेको छ । जसका कारणले नयाँ नयाँ रोग तथा किराको प्रकोपले कृषि उत्पादनमा थप चुनौति थपिएको बेलामा गाउँगाउँमै पुगेर किसानको बाली परीक्षण तथा परामर्ष दिने काम स्वागतयोग्य छ । 

प्रतिक्रिया दिनुहोस्