उर्लाबारी सुनकाण्ड प्रकरण : १२ करोडभन्दा बढी रकम ठगेर सुनचाँदी व्यावसायी फरार भए पछि पीडितहरू आन्दोलित


प्रहरी प्रशासनले सहयोग नगरेको पीडितको गुनासो

उर्लाबारी, मोरङ, २१ वैशाख । पछिल्लो समय मानिसहरू परिश्रमबिनै धेरै पैसा कमाउँने ध्याउन्नमा देखिन्छन । तर उनीहरूलाई थाहा हुँदैन कि परिश्रमबिना कमाएको पैसा दिगो हुन्न, अरूलाई ठगेर छिटो पैसा कमाउँने लालचले एकदिन उठिबास लाउँछ भन्ने कुरा । ठिक त्यस्तै भएको छ मोरङको उर्लाबारी नगरपालिकामा पनि । 


मोरङको उर्लाबारी–६ स्थित गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भनेर चिनिने गोपाल गौतम १२ करोड ठगेर फरार भएपछि उनलाई पैसा दिनेहरू भने चिन्तित बनेका छन् । निज गौतम ३ सय जना भन्दा बढीको १२ करोड भन्दा बढी रकम लिएर फरार भएको पीडितहरूको आरोप रहेको छ । सयकडा २ रुपैयाँ (२४ प्रतिशत) ब्याज दिने प्रलोभनमा पारी उनले पैसा संकलन गरेका थिए । उनकोमा पैसा राख्नेमा गाँस कटाएर राज्यबाट आएको बृद्धभत्ता पाउने बृद्ध बृद्धादेखिलिएर टेम्पो चालक सम्मका छन् । 


आफ्नो गाँस कटाएर जम्मा गरेको बृद्ध भत्तासमेतको रकम लिएर सुनचाँदी पसलका सञ्चालक फरार भएपछि उनीहरू न्यायका लागि हारगुहार गरिरहेका छन् । 


बृद्धभत्ताबाट बचाएर धेरै ब्याज आउने आसामा १ लाख ५० हजार रुपैयाँ दिएको स्थानीय पदम भण्डारी बत्ताउँछन् । 


सुरुसुरुमा राम्रो थियो । बेलामा व्याज पनि आउँदै थियो । त्यही भएर अविश्वास गर्ने कुरा आएन तर अहिले यसरी ठगिइयो । सफारी चलाएर जिविको पार्जन गर्दै आएका पीडित गोविन्द खनालले यसरी आफ्नो गुनासो पोखे ।  न्यायिक समितिमा उजुरी परेपछि उर्लाबारी नगरपालिकाको पहलमा स्थानीय गजेन्द्र डाँगीको नेतृत्वमा सहजीकरण समिति बनाइएको छ । अहिले त्यही समितिले न्यायका लागि पहल गरिरहेको छ । नगरपालिकाको न्यायिक समितिले राखेको छलफलमा गौतमले सबैको पैसा तिर्ने भनेका भए पनि उनी पछिल्लो समय फरार रहेको पीडित गजेन्द्र डाँगी बताउँछन् । डाँगी भन्छन्– त्यसपछि उनी कता छन् हामीलाई थाहा छैन । ‘उजुरी दिए पनि प्रहरीले पनि बेवास्ता गरेको उनको आरोप छ । तर उनी अदालतमै पुगेरै भए पनि न्याय दिलाएरै छाड्ने बताउँछन् । 

यसरी स्थानीयको रकम कुम्ल्याएर फरार रहेका गौतमलाई प्रहरी प्रशासनले पक्रेर कारबाही आसा पीडितले लिए पनि अझैसम्म पक्रेर कारबाही गर्ने काम भएको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मान बहादुर राइले घटनाका बारेमा आफूलाई कुनै जानकारी नआएको बताउछन् । साथै उनले यो लेनदेनको विषय भएको आफूहरूको अधिकार क्षेत्र नभए पनि उनले बताए ।

तर पीडितहरू भने आफूहरूले पटक पटक प्रहरी प्रशासनमा जानकारी गराएको तर प्रहरी प्रशासनले सहयोग नगरेको आरोप लाउँदै आएका छन् । “हामीले सबैतिर उजुरी दिएका छौँ । तर हामीले न्याय पाएनौँ ।’ पीडितसमेत रहेका सहजीकरण समितिका संयोजक गजेन्द्र डाँगीले यसरी गुनासो गरे । कतैबाट पनि न्याय नपाए पछि आफूहरू मिडियामार्फत यो विषयलाई उजागर गर्ने र न्याय पाउने आसामा रहेको उनले बताए । 


यता उद्योग वाणिज्य सङ्घ उर्लाबारीका अध्यक्ष प्रितम खड्गी भने बढी व्याज आउने लोभले नबुझीकन पैसा दिँदा यस्तो हुने गरेको बताउँछन् । उनी बुझेर मात्र पैसा दिन पनि अनुरोध गर्छन् ।


बेलबारीमा गत वर्ष मात्रै यस्तै घटना घटेको थियो । व्यापारी घनश्याम श्रेष्ठ १५ करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन गरी फरार भएका थिए । उनी अझै सम्म पनि फरार छन् । त्यसो त यस्तो प्रकृतिको घटना नयाँ भने होइन । वर्षेनी यस्ता घटना घट्दै आएका छन् । तर पनि सचेतना नअपानाउँदा यस्ता घटनाले मौलाउने थप अवसर पाउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्