निषेधाज्ञामा थप कडाइ : निषेधाज्ञाको समयमा के गर्न पाइन्छ, के गर्न पाइँदैन ?



विराटनगर, २५ वैशाख । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर लगाइएको निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ । कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण बढेसँगै मोरङ जिल्लाभर २४ गते राती १२ बजेदेखि निषेधाज्ञा लागु भएको छ ।


स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमक रोग ऐनको दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख कोषहरि निरौलाले जानकारी दिएका छन् ।


निषेधाज्ञा अवधिभर के गर्न पाउने , के गर्न नपाउने ?

– निषेधाज्ञा अवधिभर खाद्यवस्तु, इन्धन खान पकाउने ग्याँस, तरकारी, फलफूल, खानेपानी, माछामासु, दूध, डेरी लगायत अत्यावश्यक सामान आपूर्ति गर्ने पसल व्यवसायीहरु बिहान ६ बजेदेखि बिहान १० बजेसम्म सञ्चालन गर्न पाउनेछन् । उक्त समयमा अत्यावश्यक खाद्य वस्तु, पशु आहार, दाना ओसारपसार तथा बिक्रीवितरण गर्न पाइने छ ।
– निषेधाज्ञा अवधिभर जिल्लाका गुद्रीबजार, सब्जी मन्डी, होटेल, रेष्टुरा, सैलुन जस्ता भिडभाड हुने व्यवसायहरू सञ्चालन गर्न पाइने छैन । प्रशासनले सार्वजनिक विकास निर्माणका कार्यहरूमा भने रोक लगाएको छैन । निर्माण सामग्री पसल सञ्चालन तथा ओसारपसार, औजार उपकरणको ढुवानी बिहान ६ बजेदेखि १० बजेसम्म, ढुंगागिट्टी बालुवा बोक्ने ट्रिपरहरु बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउनेछन् ।


– उद्योगपति, व्यवस्थापक र श्रमिक कर्मचारीहरूलाई बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म सम्बन्धित उद्योग अथवा व्यवसायको परिचयपत्रको आधारमा कार्यस्थलसम्म आवतजावत गर्न बाधा पुर्‍याइने छैन ।

– स्वास्थ्यकर्मी, डाक्टर, दूरसञ्चार क्षेत्रमा काम गर्ने कर्मचारीहरू, सरसफाईकर्मीहरु, अत्यावश्यक सेवामा खटिएका कर्मचारीहरू, तोकिएका बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूले आफ्नो परिचय पत्रको प्रयोग गरी कार्यालय आवतजावत गर्न सक्नेछन् । कानुन व्यवसायीहरूलाई नेपाल बार एसोसिएसन बाट जारी परिचयपत्र र पत्रकार तथा सञ्चारकर्मीहरूलाई आफ्नो सञ्चारगृहबाट जारी भएको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइनेछ ।


– दैनिक रूपमा गरिने नित्य, पूजा, प्रार्थना बाहेकका धार्मिक तथा सांस्कृतिक संस्कृतिक कार्यहरू मेला, चाडपर्व, जात्रा हाटबजार, महोत्सव, भेला तथा अन्य सामूहिक गतिविधि नगर्ने र नगराउन प्रशासनले अनुरोध गरेको छ ।

– निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत्, सञ्चार, खानेपानी, बैङ्क तथा वित्तीय संस्था, फोहोर मैला व्यवस्थापन, खाद्यान्न, तरकारी, फलफूल, पशु आहार तथा दाना, दूध, इन्धन सेवा, औषधी, एम्बुलेन्स सेवा तथा बिरामी बोकेको गाडी, शव वाहन र सरकारी नम्बर प्लेटका गाडी बाहेक अन्य सवारी साधन सञ्चालन गर्न दिइने छैन ।


– कृषिजन्य उत्पादनको ओसारपसारमा रोक लगाइने छैन । सरकारी कार्यालय तथा संस्थाहरूले आलोपालो गरी न्यूनतम सङ्ख्यामा कर्मचारी राखेर अत्यावश्यक सेवा सञ्चालन तथा कार्यालयको आन्तरिक अभिलेख व्यवस्थापन लगायतका प्रशासनिक कार्य मात्र गर्न पाउनेछन् अन्तर्राष्ट्रिय सिमानाकाबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइनेछ ।

– जिल्लाभरिका सबै स्थानमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक कामबाहेक हिँडडुल गर्न पाइने छैन । जिल्लाभरिका विद्यालय, क्याम्पस, ट्युसन सेन्टर, कोचिङ सेन्टर र विश्वविद्यालयहरू सञ्चालन गर्न पाइने छैन ।


– निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्नेहरू उपर कानुन बमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ ।

– अत्यावश्यक कामबाहेक १० वर्ष मुनिका तथा ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिहरूलाई कुनै पनि कामबाहेक काममा घर बाहिर आवतजावत गर्न दिइने छैन ।


– क्ष्ऋए बाट हुने निकासी, पठौररी र नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ बमोजिम छिमेकी र मित्र राष्ट्र भारतबाट नेपाल आउने नेपाली नागरिकलाई रानी नाकाबाट प्रवेश गर्न दिइने र मालवाहक ट्रकलाई उद्योग परिसर बाहेक बाटोमा रोक्न नपाइने प्रशासनले जनाएको छ ।


– विवाहको लागि बढीमा १५ जनासम्म जन्ती जान÷आउन दुलाहा दुलही सहित ब्यानर राखेर सवारी साधन प्रयोग गर्न पाउनेछन् । मोरङ जिल्ला प्रशासनका अनुसार कार, जीप, भ्यान, इ–रिक्सा, ट्याक्सी, टेम्पो लगायत सबै किसिमका निजी तथा भाडाका सार्वजनिक यातायातका साधनहरू निषेधाज्ञा अवधिभर सञ्चालन गर्न पाइने छैन ।


उल्लिखित आदेश पालना गरी कोरोना सङ्क्रमण नियन्त्रण गर्न सबै क्षेत्रबाट महत्त्वपूर्ण सहयोग हुनेछ भन्ने अपेक्षा गरिएको छ, मोरङ जिल्ला प्रशासन कार्यालयका प्रमुख कोशहरि निरौलाले भने, ’आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानुनबमोजिम कारबाही गरिने छ ।’

प्रतिक्रिया दिनुहोस्