बेलबारीमा १५ बेडको आइसोलेसन वार्ड तयार


बेलबारी, २६ वैशाख । कोरोना सङ्क्रमण बढ्दै गए पछि बेलबारी नगरपालिकाले १५ बेडको आइसोलेसन वार्ड तयार पारेको छ । 

देशैभरि अक्सिजनको अभावमा बिरामीको ज्यान गएको खबर प्राप्त भइरहेको र स्थानीयले पनि आइसोलेसन वार्डको आवश्यकता महसुस गरिरहेको बेलामा बेलबारी नगरपालिकाले नगरभित्रै १५ बेडको सुविधा सम्पन्न आइसोलेसन वार्ड तयारीमा राखेको हो । 

बेलबारी नगरपालिका वार्ड नं २ मा रहेको बागदेवी सामुदायिक वनको हलमा गत साल नै निर्माण गरेर प्रयोगमासमेत ल्याइएको आइसोलेसन वार्डलाई पुनः प्रयोगमा ल्याउन लागेको छ । अक्सिजनको सुविधासमेत रहेको सो वार्ड २७ गतेदेखि प्रयोगमा आउने बेलबारी नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीले बताएका छन् । 

बेलबारी नगरपालिकाका कोरोना फोकल पर्सन सन्तोष विश्वकर्माले दिएको जानकारी अनुसार हालसम्ममा बेलबारीमा ६५ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने एकजनाको मृत्यु भइसकेको छ । 

स्थानीयले भने बेलबारीको यो निर्णयलाई सकारात्मक रूपमा लिएका छन् । ढिलै भए पनि नगरपालिकाले उचित निर्णय गरेको प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्