बेलबारी नगरपालिको नियमित बजार अनुगमन : अस्वाभाविक रूपमा मूल्यवृद्धि, एउटै सामानमा पनि फरक फरक विल (फोटो फिचर)


बेलबारी, २७ वैशाख । बेलबारी नगरपालिकाले गरेको अनुगमनका क्रममा अस्वाभाविक रूपमा मूल्य वृद्धिका साथै एउटै सामग्रीको पनि फरक फरक विल भेटिएका छन् । नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिका संयोजक एवम् नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुलीको नेतृत्वमा गएको अनुगमन टोलीले सो तथ्य फेला पारेको हो ।                 

 कोरोना महामारीको आडमा हुने कालोबजारीलाई रोक्न केही दिनदेखि बेलबारी नगरपालिकाले नियमित रूपमा बजार अनुगमन गरिरहेको छ ।  अनुगमन टोलीमा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश जङ्ग कार्की, बेलबारी नगरपालिका बजार अनुगमन समिति संयोजक महेन्द्र खड्का, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चार कर्मीहरूको सहभागिता रहेको थियो ।                                  

अनुगमनको क्रममा यसअघि प्रतिलिटर रु १६० सम्ममा पाउने सूर्यमुखी तेल हाल रु २६० पुगेको, २ सय सम्ममा पाउने खुकुरी तेललाई रु २ सय ८० मा बेच्ने गरेको पाइएको थियो । त्यस्तै चिनीको मूल्यसमेत अस्वाभाविक रूपमा बढेको पाइएको बेलबारी नगरपालिकाका बजार अनुगमन संयोजक महेन्द्र खड्का बताउँछन् ।              

खाद्य सामाग्री पसललाई लक्षित गरेर सोमबार गरिएको अनुगमनमा विशेष गरेर खाने तेल, चिनीजन्य सामग्रीमा अस्वाभाविक रूपमा मूल्य वृद्धि भएको पाइएको थियो । यतिसम्म कि एउटै सामग्रीको विलसमेत फर फरक पाइएको नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवम् बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली बताउँछिन् ।                                                        

उपप्रमुख पराजुली महामारीको आडमा अनियमितता नहोस् भनेर आफूहरूले नियमितरुपमा अनुगमन गरिरहेको, अनुगमनका क्रममा खाने तेल, चिनीजस्ता अत्यावश्यक सामग्रीमा अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको पाएको बताइन् । व्यापारीहरूले माथिबाटै बढेर आएको बताएका छन् । हामी वास्तविक कारणको खोजीमा छौँ । यदि अस्वाभाविक रूपमा मूल्यवृद्धि गर्ने जोकोहीलाई पनि नछाडिने बताइन् ।’ गत हप्ता गरिएको अनुगमनको क्रममा बेलबारी २ स्थित एउटा एक एग्रोभेट पसलमा म्याद गुज्रिएका विभिन्न प्रकृतिका बीउ, किटनाशक औषधीहरू फेला पारेर त्यसलाई जफतसमेत गरेको थियो ।

अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका वीडमार रुपर, सुर्याक्सील कोफ, समाधान, सिग्नेयर गोफ, सोनाश्री पाउडर,मैजिङ्क लगायत विभिन्न प्रकृतिका म्याद नाघेका सामग्रीहरू पाएको र मुचुल्का उठाएर जफत गरेको समितिले बताएको थियो । त्यसैगरी सोही दिनको अनुगमनमा अनुमतिविनै सञ्चालित बेलबारी २ को एक मेडिकल पसललाई विधिवत् हुन एक साताको अल्टिमेटमसमेत दिएको थियो । 

हिजो (आइतबार) मात्र बेलबारीका केही औषधि पसलहरूको अनुगमन गरिएको थियो । अनुगमनमा माक्सको कालोबजारी भएको, पचास प्रतिशतभन्दा बढी नाफा लिएर माक्सको विक्री गर्ने गरेको पाइए पछि ती मेडिकल पसललाई चेतावनीकासाथ अव आइन्दा त्यसो नगर्न सावधानी गराएर छाडिएको थियो । तर ती व्यापारीहरूले संचारकर्मीसँग आफूहरूले नै केही महङ्गो मूल्यमा  खरिद गरेकोले उपभोक्तालाई केही महङ्गो पर्न गएको हो तर अव आइन्दा अनुगमन समितिले भने झैँ मूल्य घटाएरै विक्री गर्ने बताएका थिए । यता केही व्यापारीले भने विलमा एउटा रकम हुने तर आफूहरूले त्यो भन्दा बढी मूल्य तिरेर ल्याउनु परेको, जसले गर्दा मूल्यमा केही फरक देखिएको बताउँदै आफूहरू पनि ठूला व्यापारीहरूबाट ठगिएको गुनासो गरेका थिए ।                 

उद्योग वाणिज्य सङ्घ बेलबारीका वरिष्ठ उपाध्यक्ष राजेश जङ्ग कार्की भने यस्तो विषम परिस्थितिमा नाफा मात्र सोचेर काम गर्न नहुने बताउँछन् । उनी अनुगमनका क्रममा देखिएका समस्यालाई निराकरण गर्न वाणिज्य सङ्ग लागि पर्ने बताउँछन् ।  स्थानीयले भने नगरपालिकाले गरेको अनुगमनलाई सकारात्मक रूपमा लिएका छन् । तर अनुगमनलाई नियमित गरिनुपर्ने उनीहरूमा मत रहेको छ ।                                                                                                                                          

प्रतिक्रिया दिनुहोस्