खेलकुद महासंघद्वारा ट्राफिकलाई स्वास्थ्य सामाग्री प्रदान



२७ वैशाख । नेपालमा कोभिड १९ को दोस्रो भेरियन्टका कारण महामारी बढिरहेको अवस्थामा खेलकुद क्षेत्र प्नि कोभिड रोकथाम अभियानमा अगाडी बढ्न थालेको छ । सोहि क्रममा एमाले निकट नेपाल खेलकुद महासङ्घ (नेकोस)ले ‘नेकोसको आव्हान, कोभिड – नो भिड’ भन्ने मूल नाराको साथ आफ्नो कोभिड रोकथामको राष्ट्रिय अभियानलाई अगाडी बढाएको छ ।


सोहि अभियान अन्तरगत महासङ्घका केन्द्रीय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रीय संयोजक परशुराम बस्नेतको नेतृत्वमा स्थायी कमिटी सदस्य सुरेश कार्की लगायत अन्य पदाधिकारीहरूको टोलीले इटहरीस्थित १ नं. प्रदेश क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयलाई मास्क, स्यानिटाइजर र ग्लोभ्स प्रदान गरेको स्थायी कमिटी सदस्य कार्कीले जानकारी गराए ।


नेकोसका केन्द्रीय उपाध्यक्ष एवं कोभिड राष्ट्रिय अभियानका केन्द्रीय संयोजक परशुराम बस्नेतले २२५० थान मास्क, १० लिटर स्यानिटाइजर र केही दर्जन ग्लोभ्स ट्राफिक कार्यालयका प्रमुखलाई प्रदान गरेका हुन् ।


पहिलो चरणमा अहोरात्र सडकमा खटिँदै प्रत्यक्ष जनसम्पर्कमा रहने भएकाले कोभिड सङ्क्रमणको अग्रस्थानमा रहेका ट्राफिकहरूको लागि यो स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । हामी कोभिड सङ्क्रमण रोक्नका लागि क्रमशः अन्य क्षेत्रमा पनि सहयोग गर्दै जानेछौँ स्थायी कमिटी सदस्य कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्