गंगा नदीको किनारमा फेरि भेटिए ९१ बेवारिसे लास


काठमाडौँ, २९ वैशाख । पछिल्ला केही दिनयता गंगानदीले बगाएका बेवारिसे शव भारतको विभिन्न स्थानमा भेटिन थालेको छ ।


 पहिचान नखुलेका र कहाँबाट आयो भन्ने समेत यकिन नभएका यस्ता शवहरू भारतको उत्तर प्रदेश र बिहार जस्ता ठाउँमा पर्ने गंगा किनारमा भेटिन थालेको हो । आम रूपमा गंगामा मृत चौपायाहरू भेटिनु सामान्य जस्तै थियो । तर कोरोना महामारीको बिचमा यति धेरै बेवारिसे शव भेटिनुलाई भने चिन्ताको विषय मानिएको छ । पछिल्लो पटक भारत बिहारमा अवस्थित गंगा नदी किनारमा बेवारिसे ७१ शव भेटिएका छन् ।

यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किनारमा क्षतविक्षत अवस्थामा दुई दर्जन बढी शव भेटिएका थिए । पछिल्लो पटक महादेव घाटमा भेटिएका ७१ शवहरू बक्सर जिल्ला प्रशासनले पोष्टमार्टमपछि खाल्डोमा गाडेको छ । तिनको डिएनएको नमूना भने सुरक्षित राखिएको छ । 


 ती शव कसका हुन् र कहाँबाट यति धेरै जम्मा भए भन्ने खुलेको छैन । अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरू बताउँछन् । कतिपयले भने कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरूको शव जलाउने दाउराको मूल्य महँगो भएकाले निजलाई त्यत्तिकै फ्यालिदिएको हुनसक्ने अनुमानसमेत गरेका छन् ।

 बक्सर जिल्लाका एसपी निरज कुमार सिंहका अनुसार शवहरू सडेका थिए । शवको अवस्था अत्यन्त खराब भएकाले घाटमै पोष्टमार्टम गरिएको थियो । मोदी सरकारका जल शक्ति मन्त्री गजेन्द्र सिंह शेखावतले गंगा नदीमा शव फ्याँक्नुलाई दुर्भाग्यपूर्ण भनेका छन् । गंगा नदीको निर्मलता र अविरलताका लागि मोदी सरकार प्रतिबद्ध रहेको बताउँदै उनले राज्य सरकारलाई यस घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न पनि भनेका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्