अमेरिकामा पूर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने



काठमाडौँ, ३१ वैशाख ।
अमेरिकामा पूर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने प्रावधान लागू गरिएको छ ।


राष्ट्रपति जो बाइडेनले कोरोना महामारीपछि लगाइएको स्वास्थ्य मापदण्डलाई केही खुकुलो पार्दै घर, कार्यालय जस्ता ठाउँमा मास्क लगाउन नपर्ने घोषणा गरेका हुन् । ह्वाइट हाउसमा आयोजित समारोहमा विपक्षी रिपब्लिकन सांसदहरूको साथमा आफूले लगाएको मास्क खोल्दै बाइडेनले पूर्ण खोप लगाएकाहरूले इन्डोर स्थलमा मास्क लगाउनु नपर्ने बताएका बिबिसीले जनाएको छ ।


अमेरिकामा पछिल्लो समय कोरोना विरुद्धको खोपको प्रभावकारिता बढेको र सङ्क्रमण नियन्त्रणतर्फ गएको देखिएको छ । तर अझै पनि बढी भिडभाड हुने अस्पताल, सार्वजनिक यातायात, हवाई जहाज लगायतकामा भने मास्कलाई अनिवार्य गरिएको छ ।


अमेरिकामा अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । राष्ट्रपति बाइडेनले कोरोना विरुद्धको खोप लगाउन सबैलाई आग्रह पनि गर्दै आएका छन् । अमेरिकाले कोरोना रोकथामका लागि १२ देखि १५ वर्षका किशोर–किशोरीका लागि पनि खोप दिने घोषणा गरिसकेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्