सधैँ चर्चामा आइरहने उर्लाबारीका मेयर खड्गबहादुर फागो


नगरपालिकामा आइसोलेसन सेन्टर संचालन गरेर स्थानीयको मन जित्दै

उर्लाबारी, १ जेठ । उर्लाबारी नगरपालिकाका मेयर बेलाबेलामा चर्चामा आउने गर्छन् । कहिले सडकमा स्थानीयलाई भाटा लाउँदै गरेको देखिन्छन् त । कहिले तैँले दिएको जागिर हो र तैँले हटाउनलाई भन्दै स्थानीयसँग भनाभन गर्दै गरेका भेटिन्छन् । जे भए पनि उनी चर्चामा आइरहन्छन् । नाकको मूल्य तोकेर इटहरीका मेयर द्वारिकलाल चौधरी चर्चामा आए झैँ मेयर फागो पनि निरन्तर रूपमा चर्चा मै देखिन्छन् । धेरैले उर्लाबारीका मेयर फागोलाई भाइरल मेयर रूपमा लिने गरेका छन् । यसरी सधैँ भाइरल बन्ने गरेका मेयर फागो यति बेला नगरपालिकामा अक्सिजनसहितको कोभिड अस्पताल निर्माण गरेर स्थानीय जनताको मन जित्नमा लागिरहेका छन् ।

  पहिलो चरणको कोरोना सङ्क्रमण कालमा मरेका मान्छेको लास उठाउनु भन्दा लाठी उठाउँछु भन्दै भाटे कारबाहीमा ओर्लेका उर्लाबारीका मेयर खड्ग बहादुर फागो धेरै चर्चामा आएका थिए । यसरी मेयरले लट्ठी लाएको भिडियो भाइरल नै भएको थियो । यो भिडियोलाई लिएर मिश्रित प्रतिक्रिया आएका थिए । 

तर दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण देशभरिबाट मानिसहरू अक्सिजन अभावमा अकालमै मृत्युवरण गरिरहेका खबर आइरहेका बेलामा मेयर फागो भने ११ बेडको कोभिड उपचार केन्द« बनाउन लागिपरेका छन् । रातदिन खटेर भए पनि कोभिड उपचार केन्द्रको निर्माण चाँडै सक्ने गरी काम गरिरहेको उनी बताउँछन् । नगरवासीको सुरक्षा स्थानीय सरकारको पहिलो प्राथमिकता भएकोले आफू यसरी लागिरहेको उनी बताउँछन् ।  उर्लाबारी नगरपालिका वाडा नं –८ स्थित राजघाटमा रहेको स्वास्थ्य चौकीमा कोरोना उपचार केन्द्र बनाउने काम धमाधम भइरहेको छ । जेठ १ गते देखि सेवा प्रदान गर्ने उद्देश्यका साथ काम भइरहेको नगरपालिकाले जनाएको छ ।   

यस अघि नै नगरपालिकाले उर्लाबारी–३ मंगबारेमा रहेको प्रदेशस्तरीय मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोभिड अस्पताल सञ्चालनका लागि अस्पतालको इमरजेन्सी वार्डको भवनमा कोभिड अस्पताल सुरु गर्ने तयारी भएको थियो । तर सञ्चालक समिति र अस्पतालका कर्मचारीले असहयोग गरेपछि राजघाटमा उपचार केन्द्र बनाउनु परेको मेयर फागो बताउँछन् । 

उर्लाबारीमा हालसम्म दोस्रो लहरका कारण ७ जनाको मृत्यु भइसकेको छ भने ८५ जना भन्दा बढी सक्रिय सङ्क्रमितको सङ्ख्या पुगिसकेको छ ।उर्लाबारी नगरपालिकाले अक्सिजन सहितको उपचार केन्द सञ्चालनमा ल्याएपछि उर्लाबारीसँग सिमाना जोडिएका पुर्वीउत्तर मोरङका अन्य स्थानीय तहका जनताले पनि सेवा पाउने सम्भावना बढेको छ । 

साथै यो उपचार केन्द्र सुरु भए पछि अक्सिजनकै लागि विराटनगर, धरान सम्म ५०÷६० किलोमिटरको लामो दुरी धाउनु पर्ने बाध्यता पनि हटेर जाने विश्वास गरिएको छ । नगरपालिकाले कोरोना सङ्क्रमणको बेला बृद्धबृद्धा, अपाङ्गता भएका, दीर्घरोगीहरूलाई प्राथमिकतामा राखेको छ । उनीहरूले नियमित रूपमा प्रयोग गर्नु पर्ने औषधि आधारभूत स्वास्थ्य केन्द्रबाट प्रदान हुने सेवा स्वास्थ्यकर्मीको माध्यमबाट जनताको घरदैलोमै पु¥याउनेसमेत नगरपालिकाले बताएको छ । 

कोरोनाको संकटले जनताको स्वास्थ्य सङ्कटको बेलामा स्थानीय सरकारले भूमिका अहम हुने गर्छ । तसर्थ आफ्नै क्षेत्रमा कोरोना उपचार केन्द्रको स्थापना गर्ने कार्य स्वागतयोग्य छ । 

प्रतिक्रिया दिनुहोस्