जसपाको विवादले उग्र रूप लिँदै : ठाकुर पक्षलाई कारबाहीको तयारी


काठमाडौँ, १ जेठ । जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवाद सतहमै आएको छ ।  

अध्यक्ष उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले आफू निकटका सांसद तथा कार्यकारिणी समिति सदस्यको बैठक बोलाएसँगै यो विवाद छताछुल्ल भएको हो । पार्टी विधान विपरीत कामहरू भएकाले त्यसैको विषयमा छलफल गर्न बैठक बोलाइएको कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिएका छन् ।आज १ बजेका लागि बैठक डाकिएको छ ।

सत्ता समीकरणका लागि पार्टीमा भएका विभिन्न गतिविधि, संसदीय दलको नेतामा राजेन्द्र महतोको चयनलगायतका विषयमा छलफल गर्नका लागि पार्टीको अनौपचारिक बैठक बोलाएको बताइए पनि ‘पार्टीको विधान विपरित जानेहरूको विषयमा निर्णय लिन सक्ने कार्यकारिणी सदस्य इस्तियाक राईको भनाइबाटै ठाकुर पक्षलाई कारबाही गर्ने सम्मको तयारीमा रहेको प्रष्ट हुन्छ ।

कार्यकारिणी समितिमा उपेन्द्र यादवको बहुमत रहेको छ । सोही बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चार सांसदलाई यस अघि नै कारवाही गरिसकिएको थियो ।

उता अर्का अध्यक्ष महन्त ठाकुरले भने बहुमत आफूहरूसँग भएको दाबी गर्दै सोही अनुसार १९ जना सांसदको हस्ताक्षरसहितको पत्रसमेत राष्ट्रपति कार्यालयमा बुझाएका थिए । 

जसपाको यो विवादलाई महत्त्वका साथ हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस्