भारतमा कोरोना सङ्क्रमण दर घट्दै, मृत्युदर भने घटेन



नयाँ दिल्ली, २ जेठ । भारतमा अघिल्लो हप्ताको तुलनामा यो हप्ता कोरोना भाइरस सङ्क्रमण दर ओरालो लाग्दै गएको छ ।

यसले भारतमा कोरोनाको दोस्रो लहर उच्चतम विन्दुमा पुगेर बिस्तारै ओरालो लाग्न थालेको सङ्केत गरेको छ ।पछिल्लो एक साताको अवस्थालाई हेर्दा दैनिक सङ्क्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।

मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९ दशमलव ५ प्रतिशतलाई कोरोना देखिएको छ ।जबकि अघिल्लो साता त्यो दर २२ दशमलव ४ प्रतिशत थियो । मे ८ मा भारतभर ३ लाख ९१ हजार नयाँ कोरोना सङ्क्रमित थपिएका थिए भने हिजो त्यो सङ्ख्या ३ लाख ५४ हजारमा झरेको छ ।

सङ्क्रमितहरूको मृत्युदर भने अहिले पनि दैनिक चार हजारको हाराहारीमा चलिरहेको छ । भारतमा अहिलेसम्म २ करोड ४६ लाख मानिसमा कोरोना सङ्क्रमण भएको छ । तीमध्ये २ लाख ७० हजारले ज्यान गुमाएका छन् भने ३६ लाख अहिले सक्रिय सङ्क्रमित छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्