रहेनन् वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदी : पशुपति आर्यघाटमा दाहसंस्कारको तयारी


काठमाडौँ, ३ जेठ । कोरोना भाइरस सङ्क्रमणबाट वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन भएको छ ।

शहीद गङ्गालाल हृदय रोग केन्द्र बाँसबारीमा उपचाररत सुवेदीको सोमबार बिहान निधन भएको नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले जनाएका छन् ।

वि. सं. २००२ मा पाँचथरमा जन्मिएका प्रा. सुवेदीका कविता, समालोचना, निबन्धलगायतका दुई दर्जन बढी पुस्तक प्रकाशित छन् । समालोचक, निबन्धकार तथा कवि सुवेदी त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख थिए । त्यस्तै उनी गोरखापत्र संस्थानका पूर्व अध्यक्ष एवम् महाप्रबन्ध समेत रहेका थिए । 

कोरोना सङ्क्रमण भए पनि सुवेदीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको पशुपति आर्यघाटमा दाहसंस्कारको तयारी भइरहेको छ ।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै विभिन्न व्यक्तिहरूले सुवेदीको मृत्युले नेपाली साहित्यमा अपूरणीय क्षति भएको प्रतिक्रिया दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्