काठमाडौँमा कोरोना भयावह बन्दै : परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि


काठमाडौँ, ३ जेठ । काठमाडौँ उपत्यकामा परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि भए पछि कोरोनाले झनै त्रसित बनाएको छ । 

कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षणमा जोड दिँदै आएको छ । गत शनिवार सम्म स्वाव सङ्कलनका लागि पाँच वटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गहेकाले आइतबारदेखि १६ वटा परीक्षण स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।

कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जनाएको छ ।कामपाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा रहेको छ । ‘कोरोनाको शङ्का देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ’, कुइँकेलले भने । सङ्क्रमण पुष्टि भएको १४ दिनपछि पुनः परीक्षण गर्नु नपर्ने मान्यता रहे पनि कामपाको हकमा भने १४ दिनपछि निको भएकाहरूले पनि पुनः परीक्षणको माग राख्दै आएकाले केही समस्या भएको छ । अहिलेसम्म कामपाले सबैको निःशुल्क परीक्षण गर्दै आएको छ ।

नगरवासीको लापरबाहीका कारणले पनि सङ्क्रमण दर बढेको भन्दै निषेधाज्ञामा पनि थप कडाइ गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्