कोरोना मरणमा मानव जीवन घृणित र त्रासयुक्त बन्दै (भिडियो सहित)

बेलबारी, ८ जेठ । कोही आफन्तको निधन हुँदा पक्कै दाहसंस्कारमा एक पटक मृत व्यक्तिको मुहार हेर्न, दफनाए एक अँजुली माटो वा जलाए एक टुक्रा दाउरा अर्पण गर्न अवश्य सहभागी हुने चलन छ । यो नेपालीहरूको संस्कार हो । 

तर कोरोनाले हाम्रो संस्कार पूर्ण रूपमा परिवर्तन गर्दिएको छ । कोरोनाको कारण भावनामा सहानुभूति र श्रद्धाञ्जली हैन, त्रास र घृणा मात्र उत्पन्न भइरहेको छ भन्दा फरक नपर्ला । बेलबारी वडा नं. ९ की करिब ६० वर्ष पुगेकी एक महिलाको दाहसंस्कारको क्रममा यही दृश्य देखियो ।

दाहसंस्कारका लागि उनका आफन्त कोही थिएनन् । एक जना ज्वाइँ सिवाय त्यहाँ अरू कोही पनि सहभागी भएनन् । बेलबारी नगरपालिकाले शव गाड्नलाई उत्खननको लागि मेसिनको व्यवस्था गरिदिएको थियो । नगरपालिकाको सहयोगमा शव वाहन गाडीमा जङ्गलसम्म शव त पुग्यो, तर सम्पर्क गर्दा पनि एक जना ज्वाइँ बाहेक दाहसंस्कार गर्न अरू कोही आफन्त थिएनन् । 

मृतक महिलाको शव गाड्नलाई तयार पारेकै छेवैमा दुई दिन अघि मात्र उनको छोरीको शव गाडिएको रहेछ । मृतक महिलाकी २८ वर्षकी छोरीको निधनको कारण पनि कोरोना थियो । जेठा छोराको पनि वैदेशिक रोजगारको क्रममा साउदीमा कोरोना सङ्क्रमणकै कारण निधन भएको रहेछ । ज्वाइँका अनुसार २५ वर्षको कान्छा छोरा पनि अहिले कोरोनासँग लडिरहेका छन् । आमालाई हेरचाह र उपचार गर्ने क्रममा उनी पनि सङ्क्रमित भएका थिए । 

एक जना स्थानीयलाई वडा नं.९ का अध्यक्ष नगेन्द्र खड्काले आग्रह गरेपछि मात्र ज्वाइँसहित दुई जना भएर शवलाई गाडीबाट निकालेर माटोमा गाडियो । त्यस बेलाको दृश्यले त्यो एक जना मानिसको दाहसंस्कार नभएर घिन र त्रासले फ्याँकिएको सिनो व्यवस्थापनजस्तै भान हुन्थ्यो । धन्न दुई जनाको साहसले मृतक महिलाको शवलाई सुरक्षित पूर्वक गाड्न सम्भव भयो । 

ती साहसी दुई जनाको पिडा पनि बेग्लै छ । यदि कोरोना सङ्क्रमितको शव गाडेर आएको भनेर गाउँलेले थाहा पाए भने गाउँ नै पस्न दिँदैन भन्ने ठुलो डरले सताइरहेको बताउँदै थिए । कसैले नआँटेको काम मानवताको लागि गर्दा पनि स्याबासी हैन घृणा र छि छि दुरदुर पाउनु पर्ने । यो कारुणिक दृश्य अनि समाजमा उत्पन्न यस्तो मनोविज्ञानले एउटा प्रश्न उब्जाएको छ, के हामी विवेकशील प्राणी नै हौ त ? 

(भिडियो)

प्रतिक्रिया दिनुहोस्