ग्रो अर्गानिकले बोयरको ३ पुस्ते विवरण कहिले ल्याउला ? : नगरपालिका छानबिनमा, किसान पर्खाइमा (बोयर बाख्रा प्रकरण)


बेलबारी, १६ जेठ । बेलबारी नगरपालिकाले किसानलाई बोयर बाख्रा वितरण गरेसँगै विवाद र बोयरको शुद्धताको गणितमा चासो बढेको छ । शनिवार नगरपालिकाले वितरण गरेको बाख्रा शतप्रतिशत बोयर नभएको भन्दै सामाजिक सञ्जालमा विरोध सुरु भएसँगै विवाद र शुद्धताको गणितको चासो उत्कर्षमा पुगेको हो ।

नगरपालिद्वारा बोयर बाख्रा प्राप्त गर्ने किसानहरू पनि असन्तुष्ट छन् । नगरपालिकाले अष्ट्रेलियाबाट आयातित १००% बोयर हो भनी वितरण गरेको बाख्रा ५०% भन्दा माथिको नभएको किसानहरूको दाबी छ भने ‘फुल ब्लड अष्ट्रेलियन’ बोयर बाख्रा अष्ट्रेलियाबाट चार्टर गरी ल्याएको नगरपालिकाको दाबी रहेको थियो ।

तर पशु सेवा विभाग अन्तर्गतको आयात निर्यात शाखाका अनुसार भने विदेशबाट ब्रिडको लागी पशु आयात नभएको ८ महिना भन्दा बढी भइसकेको छ । अष्ट्रेलियाबाट बोयर बाख्रा हालसम्म नेपाल नआएको शाखाका पशु चिकित्सक डा.मनोज कुमार शाहीले जनाएका छन् । अष्ट्रेलियाबाट आयात गर्न परे जहाजबाहेक अरू कुनै माध्यमबाट सम्भव नहुने उनले बताए ।

यस आर्थिक वर्षको नीति कार्यक्रम अनुसार विद्युतीय खरिद प्रक्रियाबाट बोयर बोका/बाख्रा खरिद ठेक्का बोलकबोल प्रक्रिया पुरा गरेर ग्रो अर्गानिक कृषि प्रा.लि.सङ्खुवासभाले १ करोड २४ लाख रुपैयाँमा ५० ओटा बोका र ३३ ओटा पाठी खरिदको लागि २०७८ जेठ ३ गते नगरपालिकासँग सम्झौता गरेको थियो । ग्रो अर्गानिकले गत शनिवार १५ गते सोही बाख्रा संख्यासहित बेलबारी नगरपालिकालाई ६ वटा बोका र ३ वटा पाठी निःशुल्क प्रदान गरेको छ ।

सम्झौता अनुसार अष्ट्रेलियाको फुलब्लड बोयर बोका ३ देखि ६ महिना उमेर समूहको, जिउ सेतो र टाउकोको भाग रातो भएको साथै कम्तीमा बोका ३५ केजी र पाठी कम्तीमा ३० केजीको हुनु पर्ने हुन्छ । लामो कान, छोटो खुट्टा, कम्प्याक्ट शरीरको हुनुपर्ने लगायत सम्झौता पत्रमा उल्लेख छ ।

तर किसानका अनुसार अष्ट्रेलियाको फुल ब्लड बोयर र बेलबारी नगरपालिकाले वितरण गरेको बाख्रा फरक पाइएको छ । नगरपालिकाबाट पाएको बोयर ५०% भन्दा माथिको शुद्ध नभएको बेलबारी ८ का उत्तम गौतम बताउँछन् । उनले अष्ट्रेलियन फुलब्लड बोयर बोका खरिद गरेर फर्म सुरु गरेको २ वर्ष भन्दा बढी भइसकेको छ ।

गौतमका अनुसार उनीसँग अष्ट्रेलियन बोयर बाख्रा खरिद गर्दा १००% शुद्ध हो भन्ने बाख्राको ३ पुस्ते विवरणसहित उल्लेख गरेको प्रमाणपत्र छ । तर नगरपालिकाले बोयर बाख्रा वितरण गरे पनि प्रमाणको लागि केही कागजपत्र किसानलाई नदिएको गौतमले बताए ।

बहुमुखी कृषि फर्म, बेलबारीका पशु चिकित्सक डा.सन्तोष यादवका अनुसार १००% शुद्ध अष्ट्रेलियन बोयर बाख्रा हो भन्ने प्रमाणका केही आधिकारिक कागजपत्र सम्बन्धित बिक्री गर्ने संस्थाले नदिने हो भने किसानलाई बोयर बाख्रा व्यवसायमा नै समस्या उत्पन्न हुन्छ । बोयरको ३ पुस्ते रेकर्ड बिना मौखिक रूपमा १००% शुद्ध भनेर खरिद नगर्न किसानहरूलाई डा.यादव आग्रह गर्छन् ।

उनी भन्छन्, यदि किसान ‘फुल ब्लड अष्ट्रेलियन’ बोयरमा ठगिए भने एउटा बाख्राको कारण सिङ्गो व्यवसाय नै बिग्रिन्छ ।‘ डा.यादवका अनुसार बोयरबारे राम्रो ज्ञान नहुँदा करिब रु.४० हजार सम्म पाइने ५०% को बोयर १००% शुद्ध ‘फुल ब्लड अष्ट्रेलियन’ बोयर भनेर रु.२ लाख सम्म मूल्यमा विक्री वितरण हुँदा वास्तविक किसानहरू ठगिनु परेको छ ।

बेलबारी नगरपालिकाको बोयर बाख्रा खरिद तथा वितरणमा पनि यही शंका उत्पन्न भएको हो । ‘फुल ब्लड अष्ट्रेलियन’ बोयर वितरण पनि नगरेको र वास्तविक किसानले पनि नपाएको स्थानीयको गुनासो रहेको छ । नगरपालिकाले खरिद गर्ने १ करोड २४ लाख रुपैयाँ बराबरको ८३ बोयर बाख्राको प्रति मूल्य १ लाख ४९ हजार ३ सय ९७ रुपैयाँ पर्न जान्छ ।

बेलबारी नगरपालिकाले मंगलबार विज्ञप्ति जारी गर्दै, ग्रो अर्गानिक कृषि प्रा.लि, सङ्खुवासभाद्वारा ‘फुल ब्लड अष्ट्रेलियन’ बोयर बोका/बाख्रा पुस्ट्याइँ नभए र सम्झौता बमोजिम अन्य मापदण्ड पुरा नदेखिएमा सम्बन्धित धरौटी जफत गरी कालो सुचीमा राख्दै ठेक्का रद्द गरी कानुन बमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।

ग्रो अर्गानिक कृषि प्रा.लिका प्रतिनिधि श्याम पाण्डेलाई सम्पूर्ण आवश्यक आधिकारिक कागजात माग गरी सकेको र छानबिन प्रक्रिया अगाडी बढाइ सकेको बेलबारी नगरकार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्