प्रदेश–२ सरकारमा काँग्रेस सामेल


जनकपुरधाम, २७ जेठ । नेपाली काँग्रेस प्रदेश–२ सरकारमा सामेल भएको छ । मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वको सरकारमा नेपाली काँग्रेस तीन मन्त्रालयसहित सामेल भएको हो । 

संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा काँग्रेस सहभागी भएको छ । काँग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादवले भौतिक पूर्वाधार, यातायात, ओमप्रकाश शर्माले ऊर्जा विकास तथा खानेपानी र वीरेन्द्र सिंहले महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मा पाएका छन् । 

बुधवार मुख्यमन्त्री लालबाबु राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबिच सरकारमा सामेल हुने बारेमा सहमति भएको थियो । नव नियुक्त मन्त्रीहरूको बुधवार नै पद तथा गोपनीयताको शपथ भएको थियो । 

माओवादीसमेत सरकारमा जाने सहमति भए पनि मन्त्रालयमा कुरो नमिल्दा केही ढिलो भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्