उपप्रमुखद्वारा छानबिन समितिमा बस्न अस्वीकार : काँग्रेसले प्रतिनिधि अझै पठाएन (बोयर बाख्रा प्रकरण)


बेलबारी, २७ जेठ । बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नगरपालिकाले गठन गरेको छानबिन समितिमा बस्न अस्वीकार गरेकी छिन् । बोयर बाख्रा प्रकरणबारे सत्य तथ्य छानबिनको गठित छानबिन समिति रहन उपप्रमुख पराजुलीले अस्वीकार गरेकी हुन ।

नगरपालिकाको २४ गते बसेको कार्यपालिकाको बोर्डले बोयर बाख्रा प्रकरणबारे सत्य तथ्य छानबिन गरी सात दिनभित्र कार्यपालिकाको बैठकमा प्रतिवेदन पेस गर्ने गरी उपप्रमुखको संयोजकत्वमा सात सदस्सीय छानबिन समिति गठन गरेको थियो । तर कार्यव्यस्थता र स्वास्थ्यको कारण देखाउँदै आफू समितिमा बसेर काम गर्न असमर्थ रहेको भन्दै उपप्रमुख पराजुलीले नगरपालिकाले गठन गरेको उक्त समितिको संयोजक पद अस्वीकार गरेकी छिन् । उनले पत्रै लेखेर नगरप्रमुखलाई सो कुरा जानकारी गराएकी छिन् । 

उपप्रमुखले आफ्नो कार्यव्यस्थता वा व्यक्तिगत स्वास्थ्यको कारण देखाएर छानबिन समितिको संयोजक पद अस्वीकार गरेको बताए पनि केहीले भने राजनीतिको संज्ञा दिँदै यसलाई केन्द्रमा देखिएको राजनैतिक टकराबको प्रतिफलको रूपमा लिएका छन् । तर उपप्रमुख पराजुलीले छानबिन समितिको सन्दर्भमा यस आर्थिक वर्षको अन्तिम समयमा लकडाउनको कारण बाकी रहेका अधिकांश सञ्चालित योजनाहरूको अनुगमन र फर्छ्यौट गर्नु पर्ने, सम्पादन गर्नु पर्ने, न्यायिक समितिका उजुरी र गुनासोहरूको व्यवस्थापन लगायत कार्यहरूको उल्लेख गर्दै संयोजकमा नरहने पत्र मार्फत जानकारी गराएकी छिन । उनले समिति बाहिर रहेर नै छानबिनमा सहयोग गर्ने बताएकी छिन ।


जेठ २४ गते नगरकार्यपालिकाको बसेको बैठकको निर्णय अनुसार बोयर बाख्रा प्रकरण छानबिनको लागि सर्वदलीय सहभागिता गराउने भनिएको थियो । सोही अनुसार नेकपा एमालेले कृष्ण गुरुङ, नेकपा माओवादी केन्द्रले किशोर भण्डारी र जनता समाजवादी पार्टीले केशव थापामगरलाई सदस्यमा पठाएको छ । तर प्रमुख प्रतिपक्षी दलको रूपमा रहेको नेपाली काँग्रेसले भने आफ्नो प्रतिनिधि पठाएको छैन ।

उपप्रमुख पराजुली संयोजकमा नरहनु र नेपाली काँग्रेसले प्रतिनिधि नपठाउँदा छानबिन समितिले पूर्णता पाउनै गारो हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस्