संविधान जारी भएको चार वर्ष पूरा, यसरी मनाइँदैछ संविधान दिवस


काठमाडौं, ३ असोज । नेपालमा संविधानसभाबाट नयाँ संविधान जारी भएको आज (शुक्रबार) चार वर्ष पूरा भएको छ ।

२०७२ साल असोज ३ गते संविधान जारी भएको थियो । संविधान जारी भएको दिनको सम्झना गर्दै केन्द्र, प्रदेश र पालिकामा विभिन्न कार्यक्रम गरी आज संविधान दिवस मनाइँदैछ । संविधान दिवस मनाउनका लागि सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले विशेष समारोह आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको मूल समारोह समितिले आयोजना गरेका कार्यक्रममा राष्ट्रपतिलगायत विभिन्न विशिष्ठ व्यक्तिहरुको उपस्पिति रहने छ ।

नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ । गणतन्त्र, सङ्घीयता, धर्म्निरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।

यद्यपि संविधानका अन्तरबस्तुका विषयमा असहमति जाहेर गरेर मधेसवादी दलहरु निरन्तर आन्दोलनमा छन् । यो संविधानमा असहमति जनाउने वा संशोधनको माग गर्नेहरु पनि रहेका छन् । सरकारले संविधान दिवसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउने घोषणा गर्दै तयारी गरेको थियो ।

संविधान दिवसमा राष्ट्रपतिको शुभकामना सन्देश
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताएकी छन् ।

संविधान दिवस, २०७६ का अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेकी छन् । तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उक्त शुभकामना सन्देशमा उल्लेख छ ।

संविधानमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरुप समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको सन्देशमा भनिएको छ । यस दिनले सबै नेपालीमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प मन, बचन र कर्मले समर्पित हुन प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको मर्म, भावना र व्यवहारमा रुपान्तरण गर्न आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न आग्रह गर्दै लामो सङ्घर्ष र प्रतिक्षापछि प्राप्त संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न सबैमा अनुरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्