१ नं प्रदेश– भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा १३ अर्ब २१ करोड बजेट विनियोजन


विराटचोक– हरैँचा– घिनाघाट सडक प्रदेश सरकारको प्राथमिकतामा

बेलबारी, २ असार । प्रदेश १ सरकारले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रमा १३ अर्ब २१ करोड बजेट विनियोजन गरेको छ । 

प्रदेशको गौरवको योजनाको रूपमा रहेको विराटचोक –हरैँचा – घिनाघाट सडक प्रदेश सरकारको प्राथमिकतामा परेको छ । यो योजनाका लागि आर्थिक वर्ष २०७८-७९का लागि प्रदेश सरकारले ५ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मङ्गलवार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले प्रदेशकै गौरवको रूपमा रहेको विराटचोक –हरैँचा – घिनाघाट सडक, मूख्यमन्त्री सडक योजना तथा यातायात क्षेत्रमा कुल १३ अर्ब २१ करोड बजेट विनियोजन गरेका हुन् ।  

सरकारले बहुवर्षीय तथा मुख्यमन्त्री सडक अन्तरगतका योजनाहरूलाई प्राथमिकतामा राख्दै स्थानीय तहको केन्द्रलाई जोड्ने सडकको निर्माण तथा त्यसको सुधारलाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री सडक योजनाका लागि ३२ करोड ७० लाख विनियोजन गरिएको छ । 

साथै बजेटले कोरोना महामारीका कारण श्रोत सुरक्षित भएका बहुवर्षीय योजनाहरूबाट श्रोत माथि परेका चापलाई मध्यनजर गर्दै कार्यविधि संशोधन गरेर स्थानीय पूर्वाधार विकास कार्यक्रम तथा निर्वाचन विशेष कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको छ । 

बजेटले यातायात क्षेत्रको सेवा प्रवाहलाई शीघ्र, भरपर्दो र अत्यधिक बनाउन सवारी साधन दर्ता, नवीकरण, ईजाजतपत्रको नामसारी लगायतका सेवाहरूलाई विद्युतीयमाध्यमबाटै गर्ने योजना अघि सारेका छ । 

प्रतिक्रिया दिनुहोस्