बेलबारीकी उमप्रमुखद्वारा साङ्लोले बाँधिएकी ३३ वर्षीय युवतीको उद्धार


बेलबारी, असार २ । लामो समयदेखि मानसिक असन्तुलनको सिकार बनेर साङ्लोमा जीवन जिउन विवश बेलबारीकी एक युवतीको उद्धार गरिएको छ । 

बेलबारी ९ की ३३ वर्षीय शलोचना राजवंशी साङ्लोमा बाँधिएको खबर सुनेपछि बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा वडा नं ९ अध्यक्ष नरेन्द्र खड्कासहितको नगरपालिकाको टिम घरमा पुगेर उनलाई उद्धार गरेको हो ।

मानसिक रोगी भएकै कारण शलोचना घरमा नबसी, गाउँ गाउँ घुम्ने, बालबालिकालाई कुट्ने गरेपछि नसकेर आफूहरूले छोरीलाई  साङ्लाले बाँधेर राख्नु परेको उनका पिता दरपद राजवंशी बताउँछन् ।                                           

कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको हुनाले आफूहरूले टाढा लगेर छोरीको उपचार गराउनसमेत नसकेको उनकी आमा दाखादेवि राजवंशी बताउँछिन् । उनी भन्छिन् – हामी दुवै जना वृद्ध अवस्थामा पुगिसकेका छौँ । यस्तो बेलामा जवान छोरीको स्याहार गरिरहनु पर्दा झनै कठिन भइरहेको थियो । आर्थिक अवस्था कमजोर भएकाले गर्दा छोरीलाई कहीँ टाढै लगेर उपचार गर्न पनि सकेका थिएनौँ ।’ 

कमजोर आर्थिक अवस्था भएकी एउटी युवतीलाई घरभित्रै साङ्लोले बाँधेर राखिएको खबरले आफूलाई असाध्यै दुःखी बनाएको, खबर थाहा पाउनसाथ आफू उद्धारमा लागेको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली बत्ताउँछिन् । 

शलोचनालाई अहिले उद्धार गरेर इटहरीस्थित मायाघरको संरक्षकत्वमा राखिएको छ ।

जवान छोरीको यस्तो अवस्थाले आफूहरू चिन्तित भइरहेको र बेसहाराजस्तै भइरहेको बेला उपप्रमुखसहित वडाध्यक्ष घरमै आएर छोरीको उद्धार गरिदिएकोमा राजवंशी दम्पतीले नगरपालिकाको टिमप्रति आभार व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्