पहिलो छानबिन समितिमा काँग्रेसले प्रतिनिधि पठाएन, अहिले एमालेले (बोयर बाख्रा प्रकरण)


बेलबारी, ३ असार । नेकपा एमाले बेलबारी नगर कमिटीले बोयर बाख्रा प्रकरणको छानबिन समितिमा प्रतिनिधि नपठाउने भएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै नेकपा पार्टीको तर्फबाट छानबिन समितिमा नपठाउने जानकारी गराएको हो ।

बेलबारी नगरपालिकाको  हकमा सत्तारुढ दलका हिसाबले पनि आफैँ छानबिन समितिमा रहनु उपयुक्त नदेखिने भएकोले प्रतिनिधि नपढाउने नेकपा बेलबारी नगर कमिटीका कार्यालय सदस्य कृष्ण गुरुङले बताएका छन् । पहिलो छानबिन समितिको विगठन भए पछि नगरकार्यपालिका सदस्य तथा बेलबारी वडा नं. १ का सदस्य बिन्दुकला गुरुङको संयोजकत्वमा ७ सदस्य समिति गठन भएको छ ।

यस अघि बेलबारी नगरकार्यपालिकाको जेठ २४ गते बसेको बैठकले उपमेयर ढाका कुमारी पराजुलीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । तर उपप्रमुख पराजुलीले नेतृत्व समाल्न अस्वीकार गरे  पछि गुरुङको संयोजकत्वमा छानबिन  समिति गठन भएको हो । उपप्रमुखको नेतृत्वमा गठित छानबिन समितिमा भने नेकपा एमालेले कृष्णा गुरुङको नाम प्रतिनिधिमा पठाएको थियो । त्यस बेला नेपाली काँग्रेसले भने उपप्रमुख पराजुलीको नेतृत्वको छानबिन समितिको क्षमतामाथि नै प्रश्न उठाएर प्रतिनिधि नपठाएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ । 

उपप्रमुखको नेतृत्वमा गठित छानबिन समितिमा एमाले, जसपा र माओवादी केन्द्रले प्रतिनिधिको नाम पठाएको थियो तर विन्दुको नेतृत्वमा भने एमाले बाहेक अन्य तिन दलले नै प्रतिनिधिको नाम पठाइसकेको छ । जसपाको तर्फबाट केशव थापा मगर, काँग्रेसले राजेन्द्र अधिकारी र माओवादी केन्द्रले किशोर भण्डारीको नाम पठाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय, इटहरीमा लिखित उजुरी दर्ता भएको हुनाले राजनैतिक दलको हैसियतले आयोगलाई स्वतन्त्र र निष्पक्ष छानबिन गर्ने वातावरण प्रदान गर्नुपर्ने दायित्व भएको विज्ञप्तिमा उल्लेख गरेको छ । आयोगले चाँडोभन्दा चाँडो सत्य तथ्य छानबिन गरी  दोषीलाई अविलम्ब कानुनी कारबाही गर्न/गराउन विज्ञप्ति मार्फत माग गरेको छ । विज्ञप्तिमा अध्यक्ष रविन थापाको निर्देशनमा उल्लेख गर्दै कार्यालय सदस्य गुरुङको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्