सङ्घीय सरकारको बेलबारीमा मात्र करिब ३३ करोड बराबरको बजेट : रमिते पर्यटकीय क्षेत्रलाई मात्र १ करोड


बेलबारी, ५ असार । सङ्घीय सरकारको आर्थिक वर्ष २०७८–७९ अन्तरगतको बेलबारीमा मात्र करिब ३३ करोड बराबरको बजेट परेको छ । 

विभिन्न मन्त्रालयको  विभिन्न शीर्षकमा गरेर आर्थिक वर्ष २०७८–७९ मा बेलबारीमा मात्र  ३२ करोड ८६ लाख बजेट परेको हो । 

सहरी विकास मन्त्रालयको १ करोड, भौतिक पूर्वाधार मन्त्रालयको ४७ लाख ५० हजार, निर्वाचन क्षेत्र राजनैतिक सडकको २५ करोड, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रु ४४ लाख ‘ हजार, बहुउद्देश्यीय पोषण कार्यक्रमका लागि रु ८ लाख, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका लागि रु ६० लाख, ऊर्जा जलश्रोत तथा सिँचाइका लागि रु २ करोड ५६ लाख, वन वातावरका लागि रु १५ लाख, खानेपानी विकासका लागि रु ३५ लाख र खेलकुद विकासका लागि रु १० लाख बजेट विनियोजन भएको छ ।                     

आर्थिक वर्ष २०७८–७९ को रमिते पर्यटकीय क्षेत्रमा सङ्घीय सरकारको एक करोड बजेट परेको छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा निर्माणाधीन अवस्थामा रहेको, सुरुङ मार्गसहितको भ्यूटावरको निर्माण भइरहेको छ ।

बहुवर्षीय योजना अन्तरगत पर्ने पर्यटन पूर्वाधार विकास शीर्षकमा १ करोड बजेट विनियोजन भएको मोरङ क्षेत्र नं ३ का पूर्व माननीय सांसद भानुभक्त ढकालको सचिवालयले जनाएको छ । पूर्व सांसद ढकालका स्वकीय सचिव कृष्ण गुरुङले दिएको जनाकारी अनुसार पूर्व पर्यटन मन्त्रीसमेत रहेका भानुभक्त ढकालको बहुवर्षीय योजना अन्तरगत रहेको रमिते पर्यटकीय विकासका लागि रु १ करोडको बजेट पारेको बताएका  छन् ।

साथै उनले ढकालकै विशेष पहलमा मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने पथरीशनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरैँचामा आर्थिक वर्ष २०७८-२०७९ का लागि राम्रो बजेट छुट्टिएको बताउँछन् । पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तरगत आर्थिक आगामी आर्थिक वर्षका लागि २ करोड ८२ लाख बजेट छुट्टिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत लोहान्द्रा, डाँस खोला, बक्राहा खोला, डाँस खोलामा पक्की गरेर ९ करोड पाँच लाखको बजेट विनियोजन भएको छ ।  

प्रतिक्रिया दिनुहोस्