बेलबारी स्काउटले वृक्षारोपण गरेर मनायो ७० औँ जन्मोत्सव


बेलबारी, ६ असार । नेपाल स्काउट बेलबारीले आफ्नो ७० औँ जन्मोत्सव वृक्षारोपण गरेर मनाएको छ । कोरोनाको महामारीबिच सीमित मानिसहरूको सहभागितामा नेपाल स्काउट तदर्थ समिति बेलबारीले नगरपालिकाको परिसरमा वृक्षारोपण गरेर आफ्नो ७० औँ जन्मोत्सव मनाएको हो । 

नगरप्रमुख ज्ञानेन्द्र सुवेदी र उपप्रमुख ढाकाकुमारी पराजुलीले संयुक्त रूपमा वृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गरिएको थिए । 

वृक्षारोपण कार्यक्रमलाई उद्घाटन गर्दै नगरप्रमुख ज्ञानेन्द्र सुबेदीले बेलबारी स्काउटको कार्यको प्रशंसा गर्दै स्काउटले सिकाएको आदर्श अनुसार चल्नु पर्नेमा जोड दिएका थिए । 

उपप्रमुख ढाकाकुमारी पराजुलीले समाज परिवर्तनमा स्काउटको भूमिका अहम हुने बताउँदै सुसभ्य समाज निर्माणका निम्ति स्काउटलाई थप बलियो बनाउन नगरपालिकाले आउने दिनमा थप सहयोग गर्ने बताइन् ।

नेपालमा दोस्रो लहरको कोरोना भाइरस महामारीको कारण भिडभाड नगरी समितिका सदस्यहरूको उपस्थितमा वृक्षारोपण गरिएको स्काउट बेलबारीका संयोजक बादल देवानले बताए । बालबालिका तथा युवाहरूमा शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र मनोसंवेगात्मक भावनाको विकास गराई उनीहरूलाई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ विश्वमा सन् १९०७ र नेपालमा बिसं २००९ सालमा स्काउटको सुरुवात भएको थियो । 

प्रतिक्रिया दिनुहोस्