बोयर प्रकरण छानबिन समितिमा नबस्ने एमालेको निर्णयप्रति तीन दलको विमति


बेलबारी, ७ असार । बोयर बाख्रा खरिद प्रक्रियाका लागि नगरपालिकाले बनाएको छानबिन समितिमा नबस्ने नेकपा एमालेको निर्णयप्रति बेलबारीका तीनवटा दलले विमति जनाएका छन् । 

उपप्रमुखको नेतृत्वमा गठन भएको समितिमा आफ्नो प्रतिनिधि पठाएको एमालेले कार्यपालिका सदस्य विन्दुकला गुरुङको नेतृत्वमा गठन भएको समितिमा भने प्रतिनिधि पठाउन इन्कार गरेको थियो । एमालेले असार ३ गते प्रेस विज्ञप्ति निकाल्दै नगरपालिकाले गठन गरेको छानबिन समितिमा आफ्नो प्रतिनिधि नपठाउने निर्णय गरेको थियो ।

उक्त निर्णयप्रति नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पाटीले विज्ञप्ति निकालेर विमति जनाएका हुन् । यसरी सुरुमा उपप्रमुखको नेतृत्वको समितिमा प्रतिनिधि पठाउनु तर त्यही विषयको छानबिन गर्न अरूको नेतृत्वमा सदस्य नपठाउनु गलत भएको तीन दलको ठहर रहेको छ । समितिको गठनको विषयलाई लिएर अरू दललाई आक्षेप लगाएकोप्रति पनि विमति जनाउँदै एमालेले आफ्नो पाटीको प्रतिनिधित्व रहेको नगरपालिकाको गलत कार्यको ढाकछोप गर्न खोजेको, भ्रष्ट्राचारप्रति शून्य सहनशीलताको उपहास गरेको तीन वटा पाटीको विज्ञप्तिमा उल्लेख छ ।

नेपाली काँग्रेस बेलबारी सह सभापति बद्री मण्डल, नेकपा माओवादी केन्द्र बेलबारी अध्यक्ष पर्शुराम सुबेदी र जसपा बेलबारी अध्यक्ष तिलक राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपमेयर पराजुलीको संयोजकत्वमा गठित छानबिन समितिमा सदस्य पठाउन आतुर हुने तर कार्यपालिका सदस्यको संयोजकत्वमा गठन भएको समितिमा बस्न अस्वीकार गरेकोमा नेकपा एमालेको निर्णयप्रति प्रश्न उब्जिएको बताइको छ । 

बोयर बाख्रा प्रकरणलाई लिएर अख्तियारमा उजुरी परेर सोको छानबिनसमेत भइरहेको छ भने यही विषयलाई लिएर दैनिक जसो विरोधका कार्यक्रमहरू भैरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्