वर्तमान सरकारका कारणले देश गम्भीर सङ्कटमा धकेलिएको विपक्षी गठबन्धनको ठहर


काठमाडौँ, ८ असार । वर्तमान सरकारका कारणले देश गम्भीर सङ्कटतर्फ धकेलिएको विपक्षी गठबन्धनले बताएको छ । पछिल्लो घटनाक्रमको समीक्षा गर्दै काँग्रससहितकोे पाँच दलीय विपक्षी गठबन्धने उक्त ठहर गरेको हो ।

 मङ्गलवार काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका पाँच दलले संयुक्त रूपमा विज्ञप्ति निकाल्दै नेपाली जनताको कष्टपूर्ण बलिदानबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । 

विज्ञप्तिमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षर रहेको छ । 

संयुक्त विज्ञप्तिमा भनिएको छ ‘प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा सङ्कीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अङ्गीकार गरेका छन् । जसका कारण नेपाली जनताको कष्टपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धिहरू नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ । राष्ट्र गम्भीर सङ्कटतर्फ धकेलिएको छ ।’

विपक्षी गठबन्धनले वर्तमान सरकार कोरोना सङ्क्रमणको महामारीबाट जनतालाई सुरक्षा र राहत प्रदान गर्न असफल रहेको पनि आरोप लाएका छन् । 

प्रतिक्रिया दिनुहोस्