सुन्दरहरैँचाको आठौँ नगरसभा सम्पन्न : २ अर्ब १५ करोड बराबरको बजेट सार्वजनिक


सुन्दरहरैँचा, ९ असार । सुन्दरहरैँचा नगरपालिकाले आज एक कार्यक्रमबिच आफ्नो आठौँ नगरसभा सम्पन्न गरेको छ । 

सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालको अध्यक्षता सम्पन्न नगरसभाले आगामी आर्थिक वर्ष २०७८–७९का लागि २ अर्ब १५ करोड १२ लाख ७ हजार १ सय रुपैयाँको बजेट पारित गरेको छ । 

नगरसभामा उपप्रमुख धनमाया तामाङले २०७८–७९ को लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७८–७९ को बजेटमा सञ्चित कोषबाट निशर्ततर्फ ९४ करोड १५ लाख ७ हजार १ सय र सशर्ततर्फ अन्तरसरकारी अख्तियारीबाट ४७ करोड ४३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यस्तै, लागत सहभागिताबाट १ करोड, सहरी शासकीय सुधार कार्यक्रमअन्तर्गत वल्र्ड बैकबाट ७४ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

उपप्रमुख तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख उज्यालो कार्यक्रममार्फत नगरपालिकालाई झिलिमिली पार्ने, नगरलाई कृषिमा आत्मनिर्भर बनाउन उपप्रमुख आत्मनिर्भर कार्यक्रम ल्याइएको बताइन् । नगरपालिकाले कृषकलाई निःशुल्क माटो परीक्षण, पूर्वाधारका काम गर्दा वातावरणलाई असर नगर्ने गरी सञ्चालन गर्ने, सबै वाडामा सञ्चालन गरिने योजनामा डिपिर तयार गरेर मात्र काम गरिने, नियमनमा कडाइ गरिने भएको छ ।                                         

 नगरपालिकाले सबै वाड कार्यालयका भवनहरूको निर्माण कार्य यसै आ.व.मा पुरा गर्ने, इलेक्ट्रिक शवदाह गृह निर्माण गर्ने, सार्वजनिक जग्गामा फलफूल रोप्ने, एकीकृत कृषि कार्यक्रम ल्याउने, लघु उद्यममा जोड दिने, औद्योगिक क्षेत्र बनाउन तयारी गर्ने, ‘घरैवसी कमाईन्छ  नोट रोपौँ खुर्सानीको बोट’ जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू ल्याएको छ । 

सुुन्दरहैँचा नगरपालिका प्रमुख शिवप्रसाद ढकालले नगरसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै सीमित श्रोत र साधनकाबिच आएको बजेटको कार्यान्वयनमा लाग्न आग्रह गरे । नगरप्रमुख ढकाले नगरपालिकाले ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक १ हजार सामाजिक भत्ता दिने, नगरभरिका पाँच जना लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई प्राविधिक शिक्षा पढाउने र नगरले यसै आर्थिक वर्षदेखि प्लटिङ व्यवसायलाई व्यवस्थित गर्ने बताएका छन् । साथै नगरपालिले सुन्दरहरैँचामा क्रियाशील पत्रकारहरूलाई पाँच लाख बराबरको स्वास्थ्य बिमा गरिदिने पनि प्रमुख ढकालले बताएका छन् । 

आजै आठौँ नगरसभाले विनियोजन विधेयक सर्वसम्मतले पास भएको छ ।  

प्रतिक्रिया दिनुहोस्