उसु महासङ्घद्वारा राहत वितरण


काठमाडौँ, ९ असार । नेपाल उसु महासङ्घले कोरोना भाइरसको बढ्दो सङ्क्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका आफ्ना खेलाडीहरूलाई राहत वितरण गरेको छ ।

महासङ्घका पदाधिकारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पुगेर खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका हुन् ।महासङ्घले मनमैजु, जावलाखेल र बौद्धमा राहत वितरण गरेको हो ।

खेलाडीहरूलाई राहत सामग्री लैजान सहज होस् भनेर विभिन्न स्थानमा पुगेर वितरण गरिएको नेपाल उसु महासङ्घका महासचिव लाक्पा छिरिङ लामाले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा ४५ जना उसु खेलाडीलाई राहत सामग्री वितरण गरिएको छ । राहत वितरणमा महासचिव लामासँगै कोषाध्यक्ष लानम लामा र सह कोषाध्यक्ष नारायण गिरीले संयोजन गरेका थिए । 

पहिलो चरणमा प्रत्येक खेलाडीलाई २५ केजी चामल, २ केजी दाल, एक लिटर तेल, एक प्याकेट नुन, माक्सलगायतका सामग्री वितरण गरिएको थियो । राहत वितरणका लागि स्थापना गरिएको कोषमा बेल्जियममा रहेका मिङमार छिरिङ लामा तथा छम्जी लामाले एक लाख रुपैयाँ सहयोग गरेका थिए । यस्तै उसु महासङ्घका अध्यक्ष वीरबहादुर तामाङबाट ६० हजार, उपाध्यक्ष हरि थापाबाट १० हजार, उपाध्यक्ष दुष्यन्त बस्नेतबाट १० हजार, कोषाध्यक्ष लानम लामाबाट पाँच हजार रुपैयाँ प्राप्त भएको महासङ्घले जनाएको छ । 

महासङ्घले आगामी दिनमा पनि राहत वितरण निरन्तर रूपमा सञ्चालन गर्न सेवा राहत कोष स्थापना गर्ने भएको छ । कोषमा जम्मा भएको रकमबाट खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीलाई राहत वितरण गर्ने योजना महासङ्घको छ । 

प्रतिक्रिया दिनुहोस्