बेलबारी नगरपालिकाको १ अर्ब ३५ करोड बराबरको बजेट प्रस्तुत : अर्को बैठक असार २४ गते बस्ने


बेलबारी कला साहित्य प्रतिष्ठान गठन तथा संचालन हुने

बेलबारी, १० असार । बेलबारी नगरपालिकाको आर्थिक वर्ष २०७८–०७९ का लागि १ अर्ब ३५ करोड बराबरको बजेट प्रस्तुत भएको छ ।

 नगरप्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बिहीबार बसेको आठौँ नगरसभामा उपप्रमुख ढाकाकुमारी पराजुलीले १ अर्ब ३५ करोड ७० लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेट चालु आ.व.को तुलनामा आगामी आ.व. को १८ दशमलव ९९ प्रतिशतले बढी अर्थात् २१ करोड ५८ लाख ५७ हजार ४ सय ९३ रहेको छ ।नगरपालिकाले विभिन्न शीर्षकमा उठ्ने कर, दस्तुर, शुल्क तथा राजश्वबाट प्राप्त हुने आन्तरिक आयलाई आर्थिक वर्ष २०७८-७९ का बजेट प्राप्तिका स्रोतहरूको रूपमा लिएको छ । यी श्रोतहरूबाट  नगरपालिकाले १३ करोड ९० लाख ५० हजार उठ्ने अनुमान गरेको छ ।

 नगरपालिकाले सङ्घीय सरकारबाट १ अर्ब ५७ लाख ४६ हजार, प्रदेश सरकारबाट २ करोड ७८ लाख, विभिन्न परियोजना तथा कार्यक्रम मार्फत १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड बराबरको ऋण प्राप्त हुने अनुमानसमेत गरेको छ ।

प्रस्तावित कुल बजेटको प्रशासनिक खर्च र चालु कार्यक्रम ८७ करोड ६ लाख ९० हजार र पुँजीगत खर्चतर्फ ४८ करोड ४३ लाख ५६ हजार विनियोजन गरिएको छ । सामाजिक विकास कार्यक्रमतर्फ ६२ करोड ४१ लख ६६ हजार, आर्थिक विकास कार्यक्रमतर्फ ७ करोड ६८ लाख १२ हजार, पूर्वाधार विकास कार्यक्रमतर्फ ४५ करोड ४८ लाख ५६ हजार, वन वातावरण र विपद् व्यवस्थापनतर्फ २ करोड २९ लाख २० हजार र सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ १ करोड ८ लाख ५० हजार विनियोजन गरिएको छ ।

उपप्रमुख पराजुलीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिलाई विशेष प्राथमिकता दिँदै कृषियोग्य जमिनको खण्डीकरणलाई निरुत्साहित गर्न सहकारीमा आधारित ख्यातिलाई प्राथमिकतामा राखिएको बताइन । नगरपालिकाले हरेक वर्ष कृषकलाई उपलब्ध गराउँदै आएको विउविजन कृषि औजार वितरणलाई निरन्तरता दिएको छ भने नगरले अर्ग्यानिक ख्यातिलाई प्राथमिकतामा राखेको छ । 

सामूहिक पशुपालन विशेष जोड दिएको नीति तथा कार्यक्रममा पर्यटन विकास, तथा स्थानीय भाषाको संरक्षण र उत्थानको लागि आदिवासी जनजातिलाई सम्मान गर्ने कार्यक्रमलाई अघि सारिएको छ । नागरिकको स्वास्थ्यमा सचेत रहँदै आएको नगरले नगर कोभिड अस्पतालको निर्माण गर्ने, सर्पदंश उपचार केन्द्र तथा दन्त उपचार केन्द्र, ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रम, दुःखमा नगरपालिका कार्यक्रम, जनप्रतिनिधिसँग मनको पीडा जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू अघि सारेको छ । 

त्यस्तै यसै आ.व.मा पुरा गर्ने गरी १५ सैयाको नगर अस्पतालको निर्माण कार्य सुरु गर्ने भएको छ । विपन्नलाई छानो, आधुनिक कोल्ड स्टोरको निर्माण, फोहर प्रशोधन केन्द्रको स्थापना जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू रहेका छन् । 

साथै नगरपालिकाले कला र साहित्यको संवर्धन गर्न अभिप्रायले बेलबारी कला साहित्य प्रतिष्ठानको गठन तथा तथा सञ्चालन गर्ने कार्यक्रम अघिसारेको छ । 

साथै सभाका अध्यक्ष नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले २४ गते अर्को बैठक बस्ने गरी बिहीबारको नगरसभाको पहिलो सत्रको अन्त्य भएको घोषण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्