बेलबारीले नगरपालिकाको कला साहित्यमा २५ लाख बजेट : बेलबारी प्रज्ञा प्रतिष्ठान गठन हुने


बेलबारी, ११ असार । बेलबारी नगरपालिकाले कला साहित्य शीर्षकमा २५ लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाले कला र साहित्यको प्रवर्धन गर्ने गरी बेलबारी प्रज्ञाप्रतिष्ठान खोल्ने भएको छ ।                           

 नगरपालिकाको आठौँ नगरसभामा उपप्रमुख ढाकाकुमारी पराजुलीले नीति बजेट कार्यक्रम प्रस्तुत गर्दै बेलबारी कला साहित्य प्रतिष्ठान (बेलबारी प्रज्ञा प्रतिष्ठान) गठन तथा सञ्चालन गर्न यसै आर्थिक वर्षमा भवनको निर्माण गरी सञ्चालनमा ल्याइने बताईन । 

कला साहित्यको विकासका लागि बेलबारीमा प्रज्ञा प्रतिष्ठान गठन हुने चर्चा लामो समयदेखि चलिरहेको थियो । नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले धेरैवटा सार्वजनिक कार्यक्रममै नगरको कला साहित्यको प्रवर्धनका लागि नगरपालिका कटिबद्ध भएको त्यसका लागि बेलबारी प्रज्ञा प्रतिष्ठानको गठन हुने बताउँदै आएका थिए । 

प्रज्ञाप्रतिष्ठानको गठन तथा सञ्चालनले सो क्षेत्रको कला साहित्यको विकासमा टेवा पुग्ने भन्दै कला साहित्यका पारखीहरूले बेलबारी नगरपालिकालाई धन्यवाद दिएका छन् ।

 बेलबारी नगरपालिकाको बिहिवार सुरु भएको नगरसभामा आर्थिक वर्ष २०७८–०७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजार बजेट प्रस्तुत भएको छ ।

नगरप्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा बिहीबार बसेको आठौँ नगरसभामा उपप्रमुख ढाकाकुमारी पराजुलीले नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्