‘सुन्दर सलकपुर’ को निर्माण कार्य धमाधम हुँदै : सलकपुर नगरकै नमुना बजार बन्दै


केशु विरही, सुन्दरहरैँचा, ११ असार । रात्रिकालीन बजारसहित सलकपुर बजारको पुनर्निर्माण हुनथाले पछि स्थानीयवासीहरू उत्साहित देखिएका छन् । साबिकको मृगौलिया गाविस वडा नं ६ हाल सुन्दरहरैँचा नगरपालिका वडा नं ८ मा रहेको सलकपुर बजार एउटा पुरानो इतिहास बोकेको बजार हो । 


यो बजारको यतिखेर नयाँ अवधारणका साथ विकास भइरहेको छ । पूर्वका बेलबारी तथा विराटचोक बजार बन्नुभन्दा अघि नै अस्तित्वमा आएको भए पनि विविध कारणले यो बजार ओझेलमा परिरहेको छ । तर आफूहरू पछिल्लो समय यस बजारलाई नयाँ ढङ्गबाट विकास गर्ने काममा जुटिरहेको स्थानीय सुरज खड्का बताउँछन् । लामो समयसम्म प्रहरी सेवामा रहेर गत साल मात्र सेवाबाट निवृत्त भएका खड्का लामो समयदेखि सलकपुर ओझेलमा रहेको बताउँछन् । तर उनी स्थानीयको सक्रियतामा भइरहेको कार्यले ओझेलमा परेको सलकपुर बजारलाई अगाडि ल्याउनेमा आफू ढुक्क रहेको बताउँछन् ।


अहिले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न मिल्ने गरी बजारको विकास भइरहेको छ । यहाँ रात्रिकालीन व्यवसाय, पानीको फोहरीसहितको खुल्ला पार्क बन्ने छ भने ठाउँ ठाउँमा यहाँ घुम्न वा व्यापार व्यवसाय गर्न आउनेलाई ठाउँ ठाउँमा बस्ने फलैँचाको व्यवस्था गरिने छ । बजारको छिर्ने स्थानमा आकर्षक प्रवेशद्वार बनाउने योजना रहेको छ । ७० घर रहेको यो सानो बजारमा एक घर एक व्यवसायको नीति अङ्गीकार गरिएको छ । सबै घरको अघिल्लो मोहडालाई एउटै रङ्ग लगाउने योजना रहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोज श्रेष्ठ बताउँछन् । सुरुवाती समयमा केही समस्या देखिए पनि सबैको सहयोगमा काम अगाडि बढाउन सकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठको अनुभव रहेको छ । उनी भन्छन् ‘नबुझेर सुरुमा केही कुरा भयो होला तर अहिले सबै जना हाम्रो योजनामा सहमत हुनुहुन्छ । हामी यो योजनालाई जसरी पनि पुरा गरेरै छाड्छौँ ।’ 


यो योजनाका लागि चालु आ.वमा नगरपालिकाको २० लाख, कृषिको २० लाख र उपभोक्ताबाट १० लाख गरेर जम्मा पचास लाख बजेट छुट्टिएको छ । यति बजेटले काम पुरा नहुने तर यो योजनालाई आगामी बजेटमा समेटेर भए पनि पुरा गरेरै छाड्ने सुन्दरहरैँचा नगरपालिका वडा नं ८ का अध्यक्ष खेमप्रसाद न्यौपाने बताउँछन् । अध्यक्ष न्यौपाने वडाकै गौरवको योजनाको रूपमा रहेको यो योजनाको पूर्णताले सलकपुरले नयाँ रूप लिनेमा ढुक्क छन् । अध्यक्ष न्यौपाने यस कार्यलाई सफल पार्न वडा कार्यालय उत्तिकै चनाखो रहेको बताउँछन् । सबैको साथ रहेकोले यो योजनाले साकार रूप लिनेमा उनी ढुक्क छन् । 


सलकपुर बजार नजिकै रहेको सशस्त्र वेस क्याम र विरोटचोकमा रहेको इलाका प्रहरी कार्यालयको नियमित गस्ती रहने हुनाले रात्रिकालीन रूपमा पनि यहाँ ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न सकिने जनप्रतिनिधिसमेत रहेका स्थानीय विष्णुप्रसाद आचार्य बताउँछन् । साथै सिसि क्यामराको पनि व्यवस्थापन गर्ने आचार्यले बताए । उनी भन्छन्, सुन्दर, शान्त र सुरक्षित सलकपुर बनाउने काममा हामी सबै लागिरहेको छौँ । 


यो योजनाको कामको सबै जिम्मा पूर्वाञ्चल कन्स्ट्रक्सन कम्पनीले लिएको छ । अहिले सम्ममा बजार भित्रको सडक तथा दुवैतिर पेटीमा ब्लक बिछ्याउने काम सम्पन्न भएको छ भने उक्त ठाउँमा बिजुलीको पोलसमेत टाँग्ने काम सकिएको छ । लामो समयदेखि ओझेलमा रहेको एउटा ऐतिहासिक बजारलाई नयाँ रूप दिएर व्यापार व्यवसाय सञ्चालन गर्नु आफैमा राम्रो काम हो । 


यसले सलकपुरको परिचय मात्र बदल्ने छैन व्यापार व्यवसायका माध्यमबाट यस क्षेत्रका मानिसको जीवनस्तरसमेत माथि उठाउन सहयोग पुग्ने छ । यस्तो महत्त्वपूर्ण काममा कम्मर कसेर लागेका सरलकपुर स्थानीयबाट अरूले पनि सिक्न जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्