आठराई गाउँपालिकाको ५६ करोड बराबरको बजेट, कृषि तथा उद्यमशीलतामा विशेष जोड


आठराई, १७ असार । तेह्रथुमको आठराई गाउँपालिकाको नवौँ गाउँसभामा आर्थिक वर्ष २०७८।०७९ का लागि कुल ५५ करोड ४४ लाख ५२ हजार १ सय ५० रूपैयाँ बराबरको बजेट प्रस्तुत भएको छ ।                                 

गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूको अध्यक्षतामा सुरु भएको सभामा उपाध्यक्ष रुपादेवी कन्दङवाले आर्थिक वर्ष २०७८–०७९ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

सभामा संघीय सरकारको वित्तीय समानिकरण तर्फ १० करोड ३२ लाख राजस्व बाँडफाँड तर्फ ७ करोड ३२ लाख ४० हजार रूपैयाँ र सशर्त अनुदान तथा विशेष अनुदान सहित ३० करोड २५ लाख, सामाजिक सुरक्षा अनुमानित रकम ५ करोडको बजेट प्रस्तुत भएको छ ।

प्रदेश सरकारको वित्तीय समानिकरण ५८ लाख ५६ हजार, राजस्व बाँडफाँडतर्फ अनुमानित ५१ लाख ५६ हजार, १ सय ५०, चालु आर्थिक वर्षको खर्च हुन बाँकी अनुमानित १ करोड र आन्तरिक आय अनुमानित ४५ लाखको बजेट प्रस्तुत भएको छ ।

गाउँसभामा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले पूर्वाधार विकासका साथसाथै कृषिलाई विशेष प्राथमिकतामा राखिएको छ । पूर्वाधारमा मूल सडकका साथै तथा अन्य सडकहरूलाई पनि बाह्रै महिना सवारी साधन चल्नसक्ने सडकको निर्माण गर्ने, गाउँपालिकासँग छिमेकी गाउँपालिका जोडिएको सडकको स्तरोन्नति गर्ने, सक्रान्ति बजारको सडकको स्तरोन्नति गर्ने आदि रहेका छन् ।

गाउँपालिकाले व्यावसायिक कृषिलाई बढी जोड दिएको छ । कृषिको विकास गरी यस क्षेत्रका जनताको जीवनस्तर माथि उठाउने, पकेट क्षेत्रको अवधारण अघि सारिने, अलैँची, अम्लिसो आदिलाई प्रवर्धन गरिने कार्यक्रम अघि सारेको छ ।

कृषिसँगै गाउँपालिकाले उद्यमशीलताको माध्यमबाट समृद्ध एवम् समुन्नत समाजको निर्माण गर्ने लक्ष्य लिएको छ ।

 साथै गाउँपालिकाले शिक्षा, स्वास्थ्य, रोजगार तथा पर्यटनको विकासमा पनि विशेष महत्त्व दिएको गाउँपालिकाका उपाध्यक्ष रुपा कन्दङ्वाले बताइन ।  गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रममा पत्रकार महासङ्घ जिल्ला शाखा तेह्रथुमको भवन निर्माणका साथै पत्रकारको लेखन वृत्तिसमेत समेटिएको छ । 

प्रतिक्रिया दिनुहोस्