सुन्दरहरैँमा पाँच दिने सिप विकास तालिम सम्पन्न


सुन्दरहरैँचा, २२ असार । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सुन्दरहरैँचा नगरपालिकामा पाँच दिने व्यावसायिक तालिम सम्पन्न भएको छ । तालिम सुन्दरहरैँचा नगरपालिकाको आर्थिक सहयोग र सुपर टाटा सोप एण्ड केमिकल इण्डष्टिज प्रालि सुनसरीको आयोजनामा सम्पन्न भएको हो । १२ नं वाड कार्यालयको सभा हलमा सञ्चालन भएको पाँच दिने साबुन बनाउने व्यावसायिक तालिममा विभिन्न २० जना महिला तथा पुरुषको सहभागिता रहेको थियो ।                       

समापन कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिका १२ नं वडाका अध्यक्ष रोषनप्रसाद ढकालले तालिमको महत्त्वको बारेमा बताउँदै सहभागीलाई तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्न आग्रह गरेका थिए । साथै अध्यक्ष ढकालले स्वरोजगार सिर्जनाका लागि वडा कार्यालय सहयोग गर्न सधैँ तयार रहेको बताए । 

सहभागीको तर्फबाट स्थानीय चीना गदाल र परमात्मा ओझाले आ–आफ्नो बिचार राखेका थिए । कार्यक्रममा अतिथिहरूलाई सहभागीले उत्पादन गरेका साबुन उपहारसमेत दिइएको थियो ।

सुपर टाटा सोप एण्ड केमिकल इण्डष्टिज प्रालि सुनसरीका प्रशासकीय प्रमुख पुरुषोत्तम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने पुष्पलता चौधरीको रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्