१ अर्ब ३६ करोड बराबरको बजेट पारित गर्दै बेलबारीको आठौँ नगरसभा सम्पन्न


बेलबारी, २४ असार । १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट पास गर्दै बेलबारी नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । असार १० गते पेस गरेको नीति, कार्यक्रम तथा बजेट पारित गर्दै आठौँ नगर सभा बिहीवार सम्पन्न भएको हो  ।

नगरपालिकाले आर्थिक वर्ष २०७८-७९ का लागि १ अर्ब ३५ करोड ७० लाख ४६ हजारको बजेट नगरसभामा प्रस्तुत गरेको थियो । उपप्रमुख ढाकाकुमारी पराजुलीद्वारा चालु खर्चतर्फ ८७ करोड ६ लाख ९० हजार अर्थात् ६४ दशमलव ३६ प्रतिशत र पुँजीगततर्फ ४८ करोड ४३ लाख ५६ हजार अर्थात् ३५ दशमलव ६९ प्रतिशत बजेट विनियोजन गर्दै बजेटको स्रोततर्फ आन्तरिक आयबाट १३ करोड ९० लाख ५० हजार, सङ्घीय सरकारबाट १ अर्ब ५७ करोड ४६ लाख, प्रदेश सरकारबाट २ करोड ७८ लाख, विभिन्न परियोजना तथा कार्यक्रमबाट १० करोड ४४ लाख ५० हजार र नगर विकास कोषबाट ८ करोड ऋण लिने अनुमान गरिएको थियो ।

नगसभामा प्रस्तुत गरेका योजना तथा कार्यक्रमहरूमा, गरिबसँग नगरपालिका, दुःखमा नगरपालिका कार्यक्रम, भूमि बैङ्क, विपन्नता गरिबलाई खाद्य सुरक्षा, एक वडा एक उत्पादन, एक वडा एक ज्येष्ठ नागरिक चौतारी, हेल्प डेस्कको व्यवस्था, नागरिक दन्त उपहार कार्यक्रम, नेत्र ज्योति , खुल्ला व्यायामशाला निर्माण, निःशुल्क फिजियो थेरापी सेवा केन्द्रको स्थापना, खुल्ला बाल उद्यान निर्माण तथा सञ्चालन, आधुनिक कोल्ड स्टोर निर्माण, स्मार्ट कृषि कार्यक्रम, समृद्ध कृषि कार्यक्रम, जनप्रतिनिधिसँग मनका पिडा कार्यक्रम जस्ता कार्यक्रहरू समेटिएका छन् । 

यसै गरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-०७९ को कार्यक्रममा पत्रकार महासङ्घ प्रदेश १ अक्षयकोषका लागि ५ लाख प्रदान गर्ने, कला साहित्य प्रतिष्ठान गठन तथा संचालन् गर्ने जस्ता कार्यक्रमहरू समेटिएका छन ।

प्रतिक्रिया दिनुहोस्